रमा तिवारी हत्या प्रकरण : कहाँ पुग्याे अनुसन्धान ?

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ २०, बुधबार १९:५५

विराटनगर । झापाको दमककी २१ वर्षीया रमा तिवारी (रोमा) को हत्या प्रकरणमा सामाजिक सञ्जालमा जथाभावी सामग्री सम्प्रेषण भएपछि प्रहरीले विज्ञप्ति जारी गरेकाे छ । अनुसन्धान प्रभावित हुने गरी अपुष्ट सूचना र जथाभावी लिइएका अन्तर्वार्ताहरू सार्वजनिक हुन थालेपछि जिल्ला प्रहरी कार्यालय झापाले विज्ञप्ति जारी गर्दै सचेत गराएको हो ।

प्रहरीले अनुसन्धान जारी रहेका बेला अनुमानका भरमा सूचना सार्वजनिक गर्दा अपराधी उम्किन सक्ने र न्याय सम्पादनमा गम्भीर असर पर्ने उल्लेख गरेको छ । पछिल्लो समय युट्युब र अन्य सामाजिक सञ्जालमा विभिन्न व्यक्तिसँगको भिडियो अन्तर्वार्ता र भ्रामक दाबीहरू सार्वजनिक भएपछि प्रहरीले आधिकारिक स्रोतको जानकारीलाई मात्र विश्वास गर्न आग्रह गरेको छ ।

Advertisement

इलाका प्रहरी कार्यालय दमकका डिएसपी हरि बस्नेतका अनुसार प्रहरीले यस घटनालाई अत्यन्तै गम्भीरताका साथ लिएर सुक्ष्म अनुसन्धान गरिरहेको छ । हाल शंकास्पद व्यक्तिहरूमाथि सोधपुछ र मृतकको मोबाइल ‘कल डिटेल’ लगायतका प्राविधिक पक्षको विश्लेषण भइरहेको उनले बताए । डिएसपी बस्नेतले अनुसन्धान निष्कर्ष नजिक पुगेको र चाँडै तथ्य सार्वजनिक गरिने जानकारी दिए ।

दमक–८ बसन्तटोल निवासी रमा तिवारी घरबाट हराएको तीन दिनपछि गत जेठ १६ गते मृत फेला परेकी थिइन् । उनको शव दमक–१० स्थित सेतुमारीको रतुवा खोलामा बोराभित्र प्याक गरेर फालिएको अवस्थामा फेला परेको थियो ।  प्रहरीले अनुसन्धानको संवेदनशीलतालाई बुझेर भ्रामक र अनुमानजन्य सामग्री प्रकाशन-प्रसारण नगर्न तथा संयमता अपनाउन सर्वसाधारण अनुरोध गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.