
झापा । झापाको दमक नगरपालिका–८ की २१ वर्षीया रोमा भनिने रमा तिवारीको शव फेला परेको पाँच दिन बितिसक्दा पनि हत्यामा संलग्नलाई पक्राउ गर्न प्रहरी असफल भएको छ । हत्यामा संलग्न व्यक्तिको पहिचान र पक्राउका बारेमा प्रहरीले हालसम्म कुनै ठोस निष्कर्ष निकाल्न नसकेको हो ।
घटनाले स्थानीय स्तरमा चासो र त्रास सिर्जना गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा घटनाको अनुसन्धान जारी रहेको जनाउँदै आधिकारिक रूपमा पुष्टि नभएका तथ्य, प्रमाण तथा विवरणका आधारमा समाचार प्रकाशन र सामाजिक सञ्जालमा सामग्री प्रशारण नगर्न आग्रह गरिएको छ ।
प्रहरीका अनुसार अनुसन्धान घटना संवेदनशील भएकाले अपुष्ट सूचना बाहिरिँदा अनुसन्धान प्रभावित हुन सक्ने र न्याय सम्पादनमा समेत असर पुग्न सक्ने खतरा रहेको उल्लेख गरिएको छ । गत शनिबार बिहान दमक क्षेत्र हुँदै बग्ने रतुवा खोलामा बोराभित्र राखिएको अवस्थामा तिवारीको शव फेला परेको थियो । शवको पहिचान पछि भएको थियो ।
तिवारीको हत्या भएको निष्कर्षमा प्रहरी पुगेको छ । तर, कसले हत्या गरेर शव बोरामा पोको पारेर फालेको हो भन्ने अहिलेसम्म यकिन हुन सकेको छैन । विभिन्न कोणबाट घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरी स्रोतका अनुसार तिवारीसँग निकट सम्बन्ध भएका व्यक्तिहरूमाथि सोधपुछ भइरहेको छ । योजनाबद्ध हिसाबले हत्या गरिएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ । प्रहरीले तिवारीकै प्रेमी भनिएका एक जना युवकलाई पनि नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो । घटनामा ती युवकको संलग्नता पुष्टि हुन नसकेपछि छाडिएको प्रहरी स्रोतले बतायो ।
झापा प्रहरीका निमित्त सूचना अधिकारी इन्स्पेक्टर सुमन बानियाले हालसम्म प्रत्यक्ष संलग्नता पुष्टि गर्ने ठोस प्रमाण फेला नपरेको बताए । अनुसन्धानका क्रममा घटनास्थल, डिजिटल प्रमाण, सीसीटीभी फुटेज तथा अन्य प्राविधिक पक्षहरूको अध्ययन भइरहेको प्रहरीले जनाएको छ । उपलब्ध फुटेजमा घटना भएको दिन रमा तिवारी एक्लै हिँडिरहेको देखिएको र त्यसपछि के भयो भन्ने विषय अझै अनुसन्धानकै क्रममा रहेको बताइएको छ ।
घटनाले स्थानीयमा आक्रोश र चिन्ता बढाएको छ । परिवारजनले निष्पक्ष, प्रभावकारी र छिटो अनुसन्धान गर्दै दोषीलाई कानुनी दायरामा ल्याउन माग गरेका छन् । प्रहरीले भने अनुसन्धान पूरा नभएसम्म अनुमान र अपुष्ट सूचनाबाट टाढा रहन सर्वसाधारणलाई आग्रह गरेको छ ।



















