सुनसरीबाट दोषी ठहर भएका ६ जना प्रतिवादी पक्राउ

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ २१, बिहीबार १२:०१
पाँच किलो गाँजा र १४ ग्राम ब्राउन सुगरसहित चार जना पक्राउ

धरान । जिल्ला प्रहरी कार्यालय सुनसरीले विभिन्न मुद्दाका ६ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । अदालत तथा जिल्ला प्रशासन कार्यालय सुनसरीबाट दोषी ठहर भएका र कैद तथा जरिबानाको फैसला सुनाइएकाहरुलाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरी तथा मातहतका प्रहरी इकाइबाट खटिएको टोलीले विभिन्न स्थानबाट प्रतिवादीलाई बुधबार पक्राउ गरेको छ । पक्राउ परेकामध्ये केहीलाई जरिबाना र केहीलाई कैद तथा जरिबाना दुवै सजाय तोकिएको थियो ।

Advertisement

पक्राउ पर्नेमा चेक अनादर मुद्दाका दुई जना रहेका छन् । धरान उपमहानगरपालिका–१५ का पूर्ण गहतराज विकलाई २०८१ भदौ १३ गते अदालतले २ हजार रुपैयाँ जरिबानाको फैसला सुनाएको थियो । त्यस्तै, रामधुनी नगरपालिका–५ का मनिष भट्टराईलाई २०८२ असार ३१ गते २ हजार रुपैयाँ जरिबाना तोकिएको थियो ।

चोरी मुद्दामा दोषी ठहर भएका देवानगञ्ज गाउँपालिका–४ का हफ्राज मन्सुरी पनि पक्राउ परेका छन् । अदालतले उनलाई २०८० फागुन २४ गते १० हजार रुपैयाँ जरिबाना तथा ६३ दिन कैद सजायको फैसला गरेको थियो ।

सार्वजनिक अपराध मुद्दा (हाल अभद्र व्यवहार)मा मोरङको सुन्दरहरैँचा नगरपालिका–७ का मनोज ऋषिदेव पक्राउ परेका छन् । उनलाई २०७३ वैशाख २१ गते१ हजार ५ सय रुपैयाँ जरिबानाको फैसला भएको थियो ।

लागुऔषध मुद्दामा मोरङकै सुन्दरहरैँचा–२ का ओमन राई पक्राउ परेका छन् । उनलाई २०७१ मंसिर १५ गते अदालतले २ हजार रुपैयाँ जरिबानाको फैसला गरेको थियो ।

त्यस्तै, अभद्र व्यवहार मुद्दामा मोरङको बेलबारी नगरपालिका–१ का सुरज गुरुङ पक्राउ परेका छन् । उनलाई २०७९ असार २३ गते १० हजार रुपैयाँ जरिबानाको फैसला सुनाइएको थियो ।

प्रहरीले पक्राउ परेका सबै प्रतिवादीलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी फैसला कार्यान्वयनका लागि सम्बन्धित निकायमा पेस गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.