नक्कली पेस्तोल देखाएर भिडियो बनाउने युवक विराटनगरबाट पक्राउ

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ २२, शुक्रबार १८:०६

विराटनगर । नक्कली पेस्तोल देखाएर सामाजिक सञ्जालमा भिडियो बनाउने एक युवकलाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१४ जतुवाका २२ वर्षीय अनिल भनिने आशिष यादव रहेका छन् ।

मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार यादवले नक्कली पेस्तोल प्रदर्शन गर्दै विभिन्न सामाजिक सञ्जालमा भिडियो बनाएर पोस्ट गरेको विषयमा अनुसन्धान भइरहेको थियो । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोली खोजतलास गर्दै यादवको घरमा पुग्यो । प्रहरीले घरमा खानतलासीसमेत गरेको थियो ।

Advertisement

प्रहरीले यादवको घरको कोठाभित्र रहेको जेब्रा झोलामा लुकाइछिपाइ राखिएको अवस्थामा ‘मेड इन चाइना’ लेखिएको म्याग्जिन नलाग्ने पेस्तोलजस्तो वस्तु फेला पारी बरामद गरेको छ । घर खानतलासी र पेस्तोलजस्तो देखिने वस्तु बरामद गर्ने क्रममा प्रहरीमाथि यादवले गालीगलौज गर्नुका साथै प्रहरीको काम कर्तव्यमा अवरोध गरेको डीएसपी मिश्रले बताए ।

घटनापछि प्रहरीले यादवलाई नियन्त्रणमा लिई अभद्र व्यवहार मुद्दामा अनुसन्धान अघि बढाएको छ । जिल्ला प्रशासन कार्यालय मोरङबाट बिहीबारदेखि लागू हुने गरी पाँच दिनको म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.