सुरक्षा निकायको मिलेमतोमा सुनसरीबाट गाँजा तस्करी, ‘सेटिङ’मा कटाइएको १७ सय किलो बढी भारतमा बरामद

मुलुकी खबर
किशोर बुढाथोकी
clock२०८३ जेष्ठ २५, सोमबार १३:११
फाइल फोटो ।

विराटनगर । नेपाल–भारत सीमा क्षेत्रबाट लामो समयदेखि भइरहेको भनिएको गाँजा तस्करी र सुरक्षाकर्मीको ‘सेटिङ’ सम्बन्धी आरोप पुष्टि हुने आधार फेला परेको छ । ‘सेटिङ’मा कटाइएको १७ सय किलो बढी गाँजा भारतमा बरामद भएको छ ।

सुनसरीको सीमा नाका हुँदै भारततर्फ लगिएको १७ सय ३३ किलोग्राम गाँजा भारतीय सुरक्षाकर्मीले बिहारको वीरपुरमा बरामद गरेपछि सीमामा खटिएका नेपाली सुरक्षा निकायको भूमिकामाथि गम्भीर प्रश्न उठेको हो । सुनसरीका नाका हुँदै तस्करी गरेर सीमा कटाइएको गाँजा भारतीय भूमिमा बरामद भएपछि नेपाली सुरक्षा निकायसँगको मिलेमतो एवं ‘सेटिङ’को विषय बाहिरिएको छ ।

Advertisement

भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले को १ ज २७२१ नम्बरको नेपाली गाडीलाई नियन्त्रणमा लिएर ठूलो परिमाणमा गाँजा बरामद गरेपछि नेपाली भू–भाग हुँदै संगठित रूपमा गाँजा तस्करी भइरहेको विषय पुष्टि भएको स्थानीयको भनाइ छ । सीमावर्ती क्षेत्रका बासिन्दा, स्थानीय स्रोत र सुरक्षासम्बन्धी जानकारहरूका अनुसार यति ठूलो परिमाणको गाँजा कुनै सामान्य समूहले नभई संगठित नेटवर्कमार्फत सुरक्षा संयन्त्रसँग ‘लाइन’ मिलाएर सीमा पार गराइएको हो ।

स्रोतहरूका अनुसार उक्त गाँजा सुनसरीको श्रीपुर, दाता टोल, सतना आसपासका कम निगरानीमा पर्ने चोर बाटो प्रयोग गरेर भारतीय भू–भागमा पुर्‍याइएको थियो । ती क्षेत्र लामो समयदेखि अवैध तस्करी, लागुऔषध ओसारपसार र गैरकानुनी गतिविधिका लागि प्रयोग हुँदै आएको बताइन्छ । स्थानीयका अनुसार सीमामा चौबिसै घण्टा सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा विभिन्न सुरक्षा संयन्त्र परिचालित रहे पनि पैसा बुझाएर तस्करी गराउने गिरोहहरू सहजै आवतजावत गर्ने गरेका छन् ।

भारतीय सुरक्षाकर्मीले गाँजासहित गाडी नियन्त्रणमा लिए पनि चालक र तस्करीमा संलग्न मुख्य व्यक्तिहरू फरार भएका छन् । प्रारम्भिक अनुसन्धानमा गाँजा नेपालबाट संगठित तस्करी सञ्जालमार्फत भारत पुर्‍याइएको निष्कर्ष भारतीय पक्षले निकालेको छ । एसएसबी स्रोतका अनुसार शंकास्पद अवस्थामा फेला परेको नेपाली गाडी जाँच गर्दा शनिबार राति ठूलो परिमाणमा गाँजा भेटिएको थियो । त्यसपछि भारतीय सुरक्षा निकाय सक्रिय बनेर अनुसन्धान अघि बढाएको छ ।

घटनापछि नेपाली सुरक्षा संयन्त्र भने रक्षात्मक अवस्थामा देखिएको छ । भारतीय भूमिमा गाँजा बरामद भएपछि मात्रै नेपाली निकायलाई घटनाको जानकारी पुगेको थियो । सीमामा कडाइ गरिएको, नियमित चेकजाँच भइरहेको र निगरानी प्रभावकारी रहेको दाबी सुरक्षा निकायको रहने गरेको छ । तर, यति ठूलो परिमाणको गाँजा सीमा पार हुँदासमेत अनभिज्ञ रहनुले सुरक्षा अधिकारीको कार्यक्षमतामाथि प्रश्न खडा भएको छ ।

स्रोतका अनुसार सुनसरीका सीमावर्ती क्षेत्रमा लामो समयदेखि गाँजा, लागुऔषध, कपडा, इलेक्ट्रोनिक्स सामग्रीदेखि अन्य अवैध वस्तुको तस्करी हुने गरेको छ । तर, सामान्य मानिसले सानो सामान बोके पनि रोकिने सीमा क्षेत्रमा १७ क्विन्टल बढी गाँजा बोकेको गाडी भारत पुग्न सुरक्षा निकायको संरक्षणबिना सम्भव नहुने स्थानीयको दाबी छ ।

प्रहरी स्रोतका अनुसार तस्करीमा ‘सेटिङ’ हुने गरेको छ । ‘गाँजा बोकेका गाडीलाई पहिल्यै ‘लाइन क्लियर’ गरिन्छ । ती गाडी सहजै भारत जान पाउँछन् । कतिपय ठाउँमा चेकजाँच नै हुँदैन । माथिबाटै निर्देशन आउने गरेको हुन्छ,’ प्रहरी स्रोतले भन्यो ।

स्थानीयका अनुसार सीमामा खटिएका केही सुरक्षाकर्मी र तस्कर समूहबीच लामो समयदेखि आर्थिक लेनदेन हुने गरेको चर्चा सार्वजनिक रूपमा चल्दै आएको थियो । तर, सम्बन्धित निकायले गम्भीर अनुसन्धान नगर्दा तस्करी झन् संस्थागत बन्दै गएको आरोप छ । अहिले भारतीय क्षेत्रमा गाँजा नै बरामद भएपछि आरोपलाई पुष्टि गर्ने आधार तयार भएको छ ।

विशेषगरी रातको समय, खराब मौसम, वर्षा तथा चट्याङ परेको बेला तस्करी बढ्ने गरेको सीमावर्ती क्षेत्रका बासिन्दा बताउँछन् । कम जनशक्ति भएको वा निगरानी कमजोर हुने समय रोजेर गाँजा ओसार्ने गरिएको उनीहरूको भनाइ छ । तर, सुरक्षा निकायलाई पैसा नै बुझाएर गाँजा तस्करी गरिएपछि यो विषयले निक्कै चर्चा पाइरहेको छ । नेपाल र सशस्त्र प्रहरीका अधिकारीसम्म गाँजाको पैसा पुग्ने गरेको आरोप लाग्दै आएको छ ।

सुनसरी प्रहरी प्रमुख एसपी केशवकुमार थेवेले वीरपुरमा गाँजा बरामद भएको विषय आफूले समाचारमार्फत जानकारी पाएको बताए । ‘के कसरी त्यो गाँजा गएको हो भन्ने विषयमा हामी पनि अनुसन्धान गरिरहेका छौं,’ उनले भने । पानी परेको बेला र प्रहरीको उपस्थिति कम भएको मौका छोपेर तस्करी गरिएको हुनसक्ने उनको भनाइ छ ।

सशस्त्र प्रहरी बल सुनसरीका प्रमुख एसपी श्याम कार्कीले पनि घटनाबारे अनुसन्धान भइरहेको बताए । ‘पानी र चट्याङ परेका बेला वीरपुरमा गाँजा बरामद गरिएको कुरा आएको छ । कताबाट गएको हो भनेर अनुसन्धान भइरहेको छ,’ उनले भने ।

तर, स्थानीय र सरोकारवालाहरू भने यस्ता प्रतिक्रिया मात्रै पर्याप्त नभएको बताउँछन् । उनीहरूका अनुसार वर्षौंदेखि सीमामा भइरहेको तस्करी नियन्त्रण गर्न सुरक्षा निकाय असफल मात्र नभई कतिपय अवस्थामा स्वयं सुरक्षाकर्मीको संरक्षणमै अवैध कारोबार हुने गरेको छ । अहिले ठूलो परिमाणको गाँजा भारतमा बरामद हुनुले सुरक्षा अधिकारीसँगको ‘सेटिङ’ प्रष्ट हुने उनीहरु बताउँछन् ।

सीमा क्षेत्रमा सक्रिय तस्कर समूहले सुरक्षाकर्मी तथा केही सुरक्षा अधिकारीहरूलाई ठूलो रकम बुझाएर सुरक्षित बाटो प्रयोग गर्ने गरेको आरोप लाग्दै आएको छ । सीमावर्ती क्षेत्रका जानकारहरूका अनुसार गाँजा तस्करी सामान्य अपराध नभई करोडौं रुपैयाँको अवैध कारोबार हो । जसमा स्थानीय स्तरदेखि विभिन्न तहसम्मको मिलेमतो हुने गरेको छ ।

घटनापछि सीमा सुरक्षाको प्रभावकारिता, निगरानी प्रणाली, आन्तरिक नियन्त्रण र सुरक्षा निकायको जवाफदेहितामाथि गम्भीर प्रश्न उठेको छ । सीमा क्षेत्रमा कडाइ गरिएको दाबी गरेर नथाक्ने सुरक्षा अधिकारीहरु अहिले भने गाँजा तस्करीको विवादमा मुछिएका छन् । स्थानीयले निष्पक्ष छानबिन गरी संलग्न तस्कर समूह मात्र नभई संरक्षण दिने व्यक्ति र निकायमाथि समेत कारबाही गर्न माग गरेका छन् ।

तपाइको प्रतिक्रिया
कोशी प्रदेशमा रास्वपा : उदयपुर बाहेक जिल्लामा नयाँ नेतृत्व
एन्फा पदाधिकारीलाई विश्वकपमा जान राखेपले दिएन अनुमति
प्रतिपक्षीकाे अवराेधपछि सूचना टासेर संसद बैठक स्थगित
जीवन विकास सामुदायिक अस्पताल दोस्रो वर्षमा, ‘वर्ल्ड क्लास’ स्वास्थ्य संस्था बनाउने लक्ष्य
करका दर हेरफेर : अर्थमन्त्रीमाथि संसदीय छानबिनकाे माग
प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरुकाे अवराेध, प्रधानमन्त्रीले माफी माग्नु पर्ने शर्त
सुरक्षा निकायको मिलेमतोमा सुनसरीबाट गाँजा तस्करी, ‘सेटिङ’मा कटाइएको १७ सय किलो बढी भारतमा बरामद
विराटनगरको ६ लेन सडकमा हराएको सौन्दर्य : उत्सवको हरियाली, उपेक्षाको झाडी
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
महिला स्वास्थ्य सुधार्न विश्वव्यापी आह्वान
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.