
विराटनगर । लागु पदार्थ सेवन (लापसे) गरेर सवारी चलाउने चालकहरु विराटनगरबाट पक्राउ परेका छन् । प्रहरीले १३ जना चालक र १ जना पैदलयात्रीसमेत गरेर १४ जनालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङले सञ्चालन गरिरहेको ‘लागुऔषधविरुद्धको महाअभियान’ अन्तर्गत सोमबार विराटनगर महानगरपालिका–१६ स्थित नेपाल–भारत सीमा क्षेत्रनजिक गरिएको विशेष चेकजाँचका क्रममा उनीहरू पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय मोरङ, जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ तथा इलाका प्रहरी कार्यालय रानीको संयुक्त टोलीले सीमा क्षेत्र हुँदै आवतजावत गर्ने सवारीसाधन तथा शंकास्पद व्यक्तिलाई लक्षित गर्दै चेकजाँच गरेको थियो ।
लापसे परीक्षण गर्दा १२ जना सीटी सफारी चालक, १ जना अटो टेम्पो चालक तथा १ जना पैदलयात्रीको रिपोर्ट पोजिटिभ आएको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले बताए । पक्राउ परेकाहरूलाई इलाका प्रहरी कार्यालय रानीमा राखेर इन्स्पेक्टर कविन राई नेतृत्वको टोलीले थप अनुसन्धान गरिरहेको छ ।
पक्राउ पर्नेहरुमा पर्नेहरूमा विराटनगर महानगरपालिका–४ का बासुदेव उराउ, विराटनगर–५ का कालुराम पासवान र सञ्जय पासवान, विराटनगर–६ का राहुल सहनी, सुमनसा सुनार र अनिराज बास्फोर रहेका छन् । त्यस्तै, विराटनगर–११ का सुनीलप्रसाद नेपाली, विराटनगर महानगरपालिका–१३ का विवेक महतो, विराटनगर–१४ का वीरु खत्वे, विराटनगर–१६ का श्रवण सहनी तथा विराटनगर–१७ का प्रदीप खड्का पनि पक्राउ परेका छन् ।
यसैगरी, मोरङको बुढीगंगा गाउँपालिका–२ का सन्तोष साह, बेलबारी नगरपालिका–११ का सुकुम लिम्बू तथा सुनसरीको इटहरी उपमहानगरपालिका–५ का ईश्वर डाँगी पनि प्रहरी नियन्त्रणमा परेका छन् । डाँगी पैदलयात्री र अरु सवारीसाधनका चालक रहेको प्रहरीले जनाएको छ ।
मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले लापसे गरेर सवारी चलाउँदा सडक दुर्घटनाको जोखिम बढ्ने भएकाले सीमाक्षेत्र तथा मुख्य सडकहरूमा निगरानी र चेकजाँचलाई तीव्र पारिएको छ । लागुऔषध सेवन तथा ओसारपसार नियन्त्रणका लागि अभियान निरन्तर सञ्चालन हुने जानकारी एसपी कटवालले दिए ।

























