कुरासाओमाथि जर्मनीको सात गोल

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार १, सोमबार ०६:१०

अमेरिका । चार पटकको विश्व विजेता जर्मनीले विश्वकपमा विजयी सुरुआत गरेको छ । पहिलो पटक विश्वकप खेलिरहेको कुरासाओलाई ७–१ ले पराजित गर्दै जर्मनीले समूह ‘ई’ को उद्घाटन खेल आफ्नो पक्षमा पार्यो ।

खेलको छैटौं मिनेटमा फ्लोरियन भिर्ट्सको सहयोगमा फेलिक्स नेम्चाले गोल गर्दै जर्मनीलाई अग्रता दिलाए । तर, २१औं मिनेटमा लिभानो कोमेनेन्सियाले गरेको प्रहार विपक्षी खेलाडीमा ठोक्किँदै जाल चुमेपछि कुरासाओले विश्वकप इतिहासमै आफ्नो पहिलो गोल दर्ता गर्यो ।

Advertisement

बराबरीपछि जर्मनीले खेलमा पकड जमायो । ३८औं मिनेटमा निको श्लोटरबेकले गोल गरे । त्यसपछि पहिलो अर्धको अतिरिक्त समयमा काइ हाभर्ट्जले सदुपयोग गर्दै जर्मनीलाई ३–१ को अग्रता दिलाए ।

दोस्रो हाफ सुरु भएको ६९ सेकेन्डमै जमाल मुसियालाले गोल थपे । त्यसपछि नाथानिएल ब्राउन, डेनीज उन्डाभ र पुनः हाभर्ट्जले गोल गर्दा जर्मनीले ७–१ को फराकिलो जित निकाल्यो ।

यस खेलमा सहभागी हुँदै ४० वर्षीय म्यानुएल नुएर जर्मनीका लागि विश्वकप खेल्ने सबैभन्दा पाका खेलाडी बने । साथै, यो जितसँगै जर्मनी विश्वकप इतिहासमा सर्वाधिक २३९ गोल गर्ने राष्ट्र बनेको छ । हार बेहोरे पनि पहिलो सहभागितामै गोल गर्न सफल कुरासाओका लागि भने यो खेल ऐतिहासिक उपलब्धिका रूपमा दर्ज भएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.