
विराटनगर । फिफा विश्वकप २०२६ अन्तर्गत साबिक विजेता अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले अल्जेरियाविरुद्ध ह्याट्रिक गरेका छन्।
अमेरिकाको कान्सास सिटी स्टेडियममा अल्जेरियाविरुद्ध भएको खेलमा मेस्सीले सानदार ह्याट्रिक गर्दै विश्व फुटबलमा थप नयाँ इतिहास रचेका हुन् । मैदानमा पूर्ण रूपमा हाबी देखिएका मेस्सीले खेलको १७ औँ मिनेटमा पहिलो गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि ६० औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेका उनले ७६ औँ मिनेटमा उत्कृष्ट गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरे। मेस्सीको यस ह्याट्रिकसँगै अर्जेन्टिनाले अल्जेरियाविरुद्ध ३–० को सहज अग्रता बनाउँदै जित पक्का गरेको हो ।
आफ्नो करियरको छैटौँ विश्वकप खेलिरहेका ३९ वर्षीय मेस्सीका लागि यो विश्वकपमा पहिलो ह्याट्रिक हो । यस ह्याट्रिकसँगै मेस्सीले विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने जर्मनीका मिरोस्लाभ क्लोसको १६ गोलको कीर्तिमान बराबरी गरेका छन् । अब मेस्सी र क्लोस दुवैको नाममा विश्वकपमा सर्वाधिक १६ गोलको कीर्तिमान दर्ता भएको छ।
यति मात्र होइन, अल्जेरियाविरुद्ध मैदान उत्रिएसँगै मेस्सीले विश्वकपमा सर्वाधिक २७ खेल खेल्ने अर्को ठुलो कीर्तिमान पनि आफ्नो नाममा लेखाएका छन् । यसअघि यो कीर्तिमान उनकै नाममा (२६ खेल) रहेको थियो।
अल्जेरियामाथि प्राप्त यो जित र मेस्सीको उत्कृष्ट लयले अर्जेन्टिनाको विश्वकप उपाधि रक्षा गर्ने अभियानमा थप ऊर्जा थपेको छ। स्टेडियममा उपस्थित हजारौँ दर्शकहरू मेस्सीको यो ऐतिहासिक क्षणको साक्षी बन्दा कान्सास सिटी ‘मेस्सी–मेस्सी’ को नाराले गुञ्जायमान भएको थियो ।



















