
काठमाडौं । पूर्वउपप्रधान एवं पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतमा दायर गरिएको संगठित अपराधसम्बन्धी अभियोग पनि फिर्ता भएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश आत्मदेव जोशीको इजलासले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले पेस गरेको अभियोगपत्र संशोधनसम्बन्धी निवेदन स्वीकार गर्दै संगठित अपराधतर्फको आरोप हटाउन अनुमति दिएको हो । अदालतले सहकारी ठगीसम्बन्धी अभियोग भने यथावत् रहने जनाएको छ ।
अदालतले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३६ अनुसार विशेष कानुनी प्रतिबन्ध नभएका मुद्दामा अभियोग संशोधन वा फिर्ता लिन सकिने व्याख्या गरेको छ । आदेशमा सम्पत्ति शुद्धीकरणजस्ता कानुनले विशेष व्यवस्था गरेका विषयबाहेक अभियोगपत्र परिमार्जन गर्न कानुनी अवरोध नरहेको उल्लेख गरिएको छ ।
यससँगै काठमाडौंमा पनि लामिछानेविरुद्धको संगठित अपराधसम्बन्धी अभियोग कायम नरहने भएको छ । यसअघि कास्की र पर्सा जिल्ला अदालतले समेत उनीविरुद्ध लगाइएको संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग फिर्ता लिन अनुमति दिइसकेका छन् । सहकारी ठगी प्रकरणमा भने लामिछानेविरुद्धको मुद्दा अदालतमा विचाराधीन नै रहेको छ ।

























