मोरङको रंगेलीबाट ३० हजार ५ सय क्याप्सुल लागुऔषधसहित भारतीय नागरिक पक्राउ

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ७, आइतबार ०८:४०
फाइल फोटो ।

विराटनगर । मोरङको रंगेलीबाट ठूलो परिमाणको लागुऔषधसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । भारतको बिहारस्थित अररिया जिल्लाको सिक्टी थाना आँपगाछी पञ्चायत–१४ घर भएका २५ वर्षीय अभिषेककुमार मण्डल पक्राउ परेका हुन् ।

बोरामा पोको पारी भारतीय नम्बर प्लेटको मोटरसाइकलमा ठूलो परिमाणको लागुऔषध लिएर नेपाल प्रवेश गरेका उनलाई इलाका प्रहरी कार्यालय रंगेलीका इन्स्पेक्टर अशोककुमार झा नेतृत्वको टोलीले शनिबार राति ८ः३० बजेतिर पक्राउ गरेको हो । बीआर ३८ एएच ८७९८ नम्बरको मोटरसाइकलमा सवार रहेका मण्डललाई प्रहरीले रंगेली नगरपालिका–५ भेडुवाथानमा रोकेर चेकजाँच गरेको थियो ।

Advertisement

प्रहरीले शंका लागेपछि भारतबाट नेपालतर्फ आउँदै गरेको भारतीय मोटरसाइकल नियन्त्रणमा लिन खोज्दा मण्डल फरार हुन खोजेका थिए । तर, प्रहरीले नियन्त्रणमा लिएर मोटरसाइकलको पछाडि राखिएको बोरा खानतलासी गर्दा ठूलो परिमाणमा लागुऔषध फेला परेको मोरङ प्रहरीका सूचना अधिकारी, डीएसपी मकेन्द्रकुमार मिश्रले बताए ।

उनका अनुसार बोराबाट ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुल नामक लागुऔषध ३ हजार ५० पत्ता फेला परेको थियो । एउटा पत्तामा १० क्याप्सुल हुन्छ । जम्मा ३० हजार ५ सय क्याप्सुल ट्रामाडोल हाइड्रोक्लोराइड नामक लागुऔषध बरामद भएको डीएसपी मिश्रले बताए ।

उनका अनुसार बरामद भएको लागुऔषध र नियन्त्रणमा लिइएको मोटरसाइकलसहित मण्डललाई इलाका प्रहरी कार्यालय रंगेलीको हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको छ । उनीविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ ।

प्रारम्भिक अनुसन्धानबाट मण्डल लामो समयदेखि भारतीय भूमिबाट नेपालमा लागुऔषध ‘सप्लाई’ गर्ने धन्दामा संलग्न रहेको पत्ता लागेको छ । अहिले भने भारतबाट नेपाली ‘सप्लायर्स’लाई लागुऔषध पुर्याउन आउँदै गर्दा उनी पक्राउ परेका हुन् ।

प्रहरीले लागुऔषधको धन्दामा ठूलै गिरोह संलग्न रहेको हुनसक्ने आशंका छ । लागुऔषधको ‘नेटवर्क’ पत्ता लगाउन विभिन्न कोणबाट अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । विस्तृत अनुसन्धानबाट मात्रै सबै कुरा पत्ता लाग्ने प्रहरीको भनाइ छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.