
एजेन्सी । दक्षिणी लेबनानमा इजरायलले गरेको पछिल्लो हवाई आक्रमणपछि इरानले विश्वको महत्वपूर्ण तेल मार्ग मानिने स्ट्रेट अफ होर्मुज पुनः बन्द गरिएको दाबी गरेको छ ।
तर, अमेरिकी सेनाले उक्त दाबी अस्वीकार गर्दै जलमार्ग सामान्य रूपमा खुला रहेको र व्यापारिक जहाजहरूको आवतजावत निरन्तर भइरहेको जनाएको छ । अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम)का अनुसार शनिबार मात्रै दर्जनौँ व्यापारिक जहाजले उक्त जलमार्ग पार गरेका छन् । हालसम्म कुनै अवरोध देखिएको छैन। अमेरिकी पक्षले इरानसँग समुद्री मार्ग नियन्त्रण गर्ने क्षमता नै नभएको टिप्पणीसमेत गरेको छ ।
यता इरानले भने इजरायल–लेबनान तनाव र युद्धविराम उल्लंघनका कारण क्षेत्रीय अस्थिरता बढेको भन्दै आफ्नो कदमलाई औचित्यपूर्ण बताएको छ । बीबीसीका अनुसार केही तेल ट्यांकरहरूले मार्ग परिवर्तन गरेको संकेत पनि देखिएको छ । जसले स्थिति अझै अनिश्चित रहेको देखाउँछ ।
यसैबीच, अमेरिका र इरानबीच आणविक मुद्दा र लेबनान युद्धविरामका बारेमा छलफल गर्न आइतबार स्विट्जरल्याण्डमा प्रत्यक्ष वार्ता हुँदैछ । वार्तामा अमेरिकी उपराष्ट्रपति जेडी भान्स र पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ पनि सहभागी हुनेछन् । पाकिस्तानले यसअघि मध्यस्थकर्ताको भूमिका निर्वाह गरेको थियो ।
वार्ताको मुख्य उद्देश्य तनाव घटाउँदै युद्धविरामलाई स्थायित्व दिनु र विश्व ऊर्जा आपूर्तिको महत्वपूर्ण मार्ग स्ट्रेट अफ होर्मुजलाई सुरक्षित रूपमा सञ्चालन गर्नु रहेको बताइएको छ । तर, दुवै पक्षबीच गहिरो अविश्वास कायमै रहेकाले सहमतिमा पुग्ने सम्भावनाका बारेमा अनिश्चितता पनि उत्तिकै देखिएको छ ।



















