
विराटनगर । विराटनगरमा एक युवकले प्रहरी र सुधारगृहका कर्मचारीमाथि चक्कु प्रहार गरेका छन् । आइतबार अपराह्न विराटनगर महानगरपालिका–१, अनुकरण मार्गबाट सुधारगृह लैजाने खोज्दा २९ वर्षीय रुबिण कार्कीले धारिलो हतियार चक्कु प्रहार गरेका हुन् ।
उनले चक्कु प्रहार गर्दा दुई जना प्रहरी र एक जना सुधारगृहका कर्मचारी घाइते भएका छन् । रामेछाप घर भई विराटनगर–१ स्थित मोहन भट्टराईको घरमा कोठा भाडामा बस्दै आएका २९ वर्षीय कार्कीलाई आइतबार दिउँसो साथीभाइ नेपाल नामक सुधारगृह काठमाडौं पठाउने तयारी भइरहेको थियो । सोही क्रममा कार्कीले आफूलाई कोठाभित्र थुनेर आत्महत्याको प्रयास गरेपछि परिवारले प्रहरीलाई खबर गरेको थियो ।
घटनास्थलमा पुगेको सीआरभी भट्टाचोकको प्रहरी टोली र सुधारगृहका कर्मचारीले उनलाई सम्झाइबुझाइ गरी कोठाबाट निकाल्न खोजेका थिए । तर, कार्कीले आफ्नो ओछ्यानमा लुकाएर राखेको चक्कु झिक्दै सीआरभी भट्टाचोकका प्रहरी सहायक निरीक्षक (असई) भोजराज रेग्मी, प्रहरी जवान हिमाल घिमिरे र साथीभाइ नेपाल सुधारगृहका कर्मचारी सन्तोष सापकोटालाई चुक्कले टाउकोमा प्रहार गरेको मोरङ प्रहरीका सूचना अधिकारी, डीएसपी मकेन्द्रकुमार मिश्रले बताए ।
उनका अनुसार आक्रमणबाट तीनै जनाको टाउकोमा चोट लागेको छ । घाइतेहरुलाई उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल भर्ना गरिएको छ । प्रहरीका अनुसार घाइतेहरूको अवस्था सामान्य रहेको छ । प्रहरीले चक्कु प्रहार गर्ने कार्कीलाई नियन्त्रणमा लिएको छ । कार्कीलाई जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान अघि बढाइएको डीएसपी मिश्रको भनाइ छ ।

























