
इटहरी । सुनसरीको इटहरीबाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय इटहरी र जिल्ला प्रहरी कार्यालय सुनसरीको संयुक्त टोलीले आइतबार राति इटहरी उपमहानगरपालिका–५ जनता बस्तीस्थित पिपलचोकबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका–५ का २८ वर्षीय प्रकाश मादेन र १८ वर्षीय अनमोल सिवा रहेका छन् । गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूको साथबाट ट्रामाडोल १२७ ट्याब्लेट र स्पास्पेन १२७ ट्याब्लेटसहित कुल २५४ ट्याब्लेट, दुई थान मोबाइल र दुई हजार ७० रुपैयाँ बरामद गरेको छ ।
दुवैलाई इलाका प्रहरी कार्यालय इटहरीमा राखी घटनाको थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । पक्राउ परेकाविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ ।



















