
विराटनगर । मोरङ जिल्ला कारागारका कैदीबन्दीलाई वितरण गरिएको १३ लाख ४० हजार रुपैयाँ गर्मी भत्ता गायब भएपछि विवादित छवि भएका अभिषेक गिरी पक्राउ परेका छन् ।
कारागार प्रशासनले गत बुधबारदेखि शुक्रबारसम्म १ हजार १८५ कैदीबन्दीलाई प्रतिव्यक्ति २ हजार ५ सयका दरले भत्ता वितरण गरेको थियो । तर, बी ब्लक का ५३६ जना कैदीलाई बाँडिएको रकम केही घण्टामै गायब भएको सूचना पाएपछि प्रमुख जिल्ला अधिकारी युवराज कटेलले अनुगमनको निर्देशन दिएका थिए । अनुगमनका क्रममा कैदीबन्दीको साथमा रकम नभेटिएपछि सोधपुछ गर्दा गिरीको संलग्नता खुलेको हो ।
जिल्ला कारागार मोरङका जेलर राजन घिमिरेका अनुसार मोरङ कारागारमा ३ वटा ब्लक छन् । ती ब्लकमा रहेका १ हजार १ सय ८५ कैदीबन्दीलाई गर्मीभत्ता बापत २ हजार ५ सयका दरले वितरण गरिएको थियो ।
जेलर घिमिरेका अनुसार ए ब्लकका ५३९ जना, बी ब्लकका ५३६ जना र महिला ब्लकका ११० जनालाई भत्ता वितरण गरिएको थियो । बी ब्लकका ५३६ जनालाई वितरण गरिएको १३ लाख ४० हजार रुपैयाँ भने वितरण गरेको भत्ता गायब भएकाे थियाे ।
जेलर घिमिरेका अनुसार कारागार प्रशासनका कर्मचारीले सशस्त्र र नेपाल प्रहरीको उपस्थितिमा कैदीबन्दीको हात हातमै भत्ता पुर्याएको थियो । ‘हामीले कोठा-कोठामै गएर २५ सयका दरले पैसा बाँडेका हौँ, उनले भने, अनुगमनका क्रममा कैदीबन्दीले पैसा प्राप्त गरेको स्वीकार गरे पनि सबै पैसा साथमा देखाउन सकेनन् ।’
उनका अनुसार अनुगमनका क्रममा कतिपय कैदीबन्दीको साथमा ५०० देखि १००० रुपैयाँ मात्र फेला परेको थियो । बाँकी रकमका बारेमा सोधपुछ गर्दा कैदीबन्दीले लुगा किन्नका लागि घरपरिवार वा आफन्तलाई पठाइसकेको जवाफ दिएको घिमिरेले बताए ।
कारागार स्रोतका अनुसार बि ब्लकका निमित्त चौकीदार चन्चल बर्मनलाई सोधपुछ गर्दा गिरीको नाम लिएका थिए । मोरङका प्रमुख जिल्ला अधिकारी कटेलले कारागारबाटै कैदीबन्दीको भत्ता गायब भएपछि गिरीलाई पक्राउ गरिएको बताए । कारागारको अन्य विषय पनि गिरीसँग जोडिएकाले थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।
अपहरण तथा शरीर बन्धक मुद्दामा ९ वर्ष जेल बसेर दुई वर्षअघि छुटेका गिरी पछिल्लो समय नेपाली कांग्रेसको राजनीतिमा सक्रिय थिए । कारागारभित्र रहँदा पनि चौकीदारका रूपमा कैदीबन्दीमाथि आर्थिक शोषण गरेको आरोप उनीमाथि लाग्दै आएको थियो । हाल भत्तासँगै कैदीबन्दीले बनाएको मुढाको पैसासमेत गायब पारेको विषयमा उनीमाथि थप अनुसन्धान भइरहेको छ ।
साेही घटनाकाे साेधपुछका लागि प्रहरीले चाैकीदार बर्मालाई नियन्त्रणमा लिएकाे थियाे । तर, कैदीबन्दीले प्रदर्शन गरेपछि उनलाई कारागार फिर्ता पठाएकाे छ । यता अभिषेक गिरीले भने सरकार फेरिएपछि राजनीतिक प्रतिसाेधका आधारमा पक्राउ गरेकाे दाबी गरेका छन् । उनकाे पक्राउकाे विराेधमा कारागार भित्र प्रदर्शन भइरहेकाे छ ।



















