
काठमाडौं । श्रीमती ईश्वरी भुजेलको हत्या आरोपमा पक्राउ परेका ‘नेपाली ब्रो’ भनेर चिनिने कुमार थापामगर र उनकी प्रेमिका प्रतीक्षा आचार्यलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।
न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले बिहीबार भएको थुनछेक बहसपछि दुवैलाई अनुसन्धान र मुद्दाको अन्तिम टुंगो नलाग्दासम्म थुनामा राख्न आदेश दिएको हो । आदेशसँगै दुवै जनालाई कारागार चलान गरिएको छ ।
उक्त घटनामा प्रतिवादी बनाइएका विक्रम थापामगर र पुजन थापा क्षेत्रीलाई भने अदालतले जनही एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ । प्रहरीका अनुसार ‘नेपाली ब्रो’ भनिने कुमार थापामगरले गत जेठ २२ गते आफ्नी ४२ वर्षीया श्रीमती ईश्वरी भुजेलको घाँटी रेटेर हत्या गरेका थिए ।
घटनापछि प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानपछि प्रतीक्षा आचार्यसहित अन्य व्यक्तिलाई पनि प्रतिवादी बनाउँदै मुद्दा दायर गरिएको थियो ।
अदालतको पछिल्लो आदेशसँगै कुमार थापामगर र प्रतीक्षा आचार्य अब पुर्पक्षका लागि थुनामै रहने भएका छन् । विक्रम थापामगर र पुजन थापा क्षेत्री धरौटी बुझाएर रिहा हुन पाउनेछन् ।



















