
काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि मुगुका गणेश नेपालीले गरेको आत्मदाह प्रयासमा आफ्नो कुनै संलग्नता नरहेको भन्दै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले स्पष्टीकरण दिएको छ ।
कार्यालयका अनुसार सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा ट्राफिक प्रहरीले जरिबाना तिराएकै कारण नेपालीले आत्मदाह प्रयास गरेको भन्ने दाबी तथ्यहीन र भ्रामक हो । एसपी नरेशराज सुवेदीद्वारा जारी विज्ञप्तिमा ट्राफिक प्रहरीले नेपालीलाई कुनै जरिबाना नगरेको तथा उक्त घटनासँग ट्राफिक कारबाहीको कुनै सम्बन्ध नरहेको स्पष्ट पारिएको छ ।
विज्ञप्तिमा घटनाको वास्तविक कारणका बारेमा सम्बन्धित निकायबाट अनुसन्धान जारी रहेको उल्लेख गर्दै आधिकारिक पुष्टि नगरी सुरक्षा निकायको नाम जोडेर भ्रम फैलाउने कार्यप्रति आपत्ति जनाइएको छ ।




















