विश्वकपको महायुद्ध : इतिहास बोकेको इङ्ग्ल्यान्ड र अर्जेन्टिना भिड्दै

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ३१, बुधबार १७:३३

अमेरिका । फिफा विश्वकप २०२६ को दोस्रो सेमिफाइनलमा आज (बुधबार) राति फुटबलका दुई परम्परागत प्रतिद्वन्द्वी इङ्ग्ल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदैछन् । एटलान्टा रंगशालामा हुने खेल नेपाली समयअनुसार राति १२ः४५ बजेबाट सुरु हुनेछ । विजेता टोलीले विश्वकपको फाइनलमा स्थान बनाउनेछ । विजेताले उपाधि रक्षाका लागि स्पेनसँग प्रतिस्पर्धा गर्नुपर्ने छ ।

विश्व फुटबलमा इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबीचको प्रतिस्पर्धालाई सबैभन्दा ऐतिहासिक र भावनात्मक भिडन्तमध्ये एक मानिन्छ । सन् १९८२ को फकल्यान्ड युद्धपछि दुई देशबीचको राजनीतिक तनाव फुटबल मैदानसम्म पुगेको थियो । युद्धमा करिब ९ सय सैनिकको ज्यान गएको थियो भने बेलायती सेनाको पक्षबाट नेपाली गोर्खा सैनिकले पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । त्यसयता विश्वकपमा भएका यी दुई टोलीका अधिकांश भेट इतिहासमा विशेष रूपमा दर्ज छन् ।

सन् १९८६ को विश्वकप क्वार्टरफाइनलमा डिएगो म्याराडोनाले गरेको विवादास्पद ‘ह्यान्ड अफ गड’ गोल र त्यसलगत्तै पाँच खेलाडीलाई छक्याउँदै गरेको ‘गोल अफ द सेन्चुरी’ फुटबल इतिहासका सर्वाधिक चर्चित क्षण हुन् । अर्जेन्टिनाले त्यो खेल २–१ ले जितेको थियो । सन् १९९८ मा अर्जेन्टिनाले पेनाल्टी सुटआउटमार्फत इङ्ग्ल्यान्डलाई पराजित गर्दा डेभिड बेकह्याम रातो कार्डका कारण आलोचनाको केन्द्र बने । त्यसको चार वर्षपछि सन् २००२ को विश्वकपमा भने बेकह्यामकै पेनाल्टी गोलबाट इङ्ग्ल्यान्डले १–० को जित निकाल्दै बदला लिएको थियो ।

यसपटक इङ्ग्ल्यान्ड क्वार्टरफाइनलमा नर्वेलाई अतिरिक्त समयमा २–१ ले हराउँदै अन्तिम चारमा पुगेको हो । जुड बेलिङ्घमले दुवै गोल गर्दै टोलीलाई जित दिलाएका थिए । बेलिङ्घम र कप्तान ह्यारी केनले यस विश्वकपमा समान ६–६ गोल गरेका छन् । एउटै विश्वकपमा एउटै टोलीका दुई खेलाडीले ६ वा सोभन्दा बढी गोल गरेको यो पहिलो अवसर हो । केनले बुधबार मैदान उत्रिए इङ्ग्ल्यान्डका लागि १२१ औँ अन्तर्राष्ट्रिय खेल खेल्नेछन् । जुन गोलरक्षकबाहेक कुनै पनि इङ्ग्लिस खेलाडीको सर्वाधिक हुनेछ ।

मुख्य प्रशिक्षक थोमस टुखेलको नेतृत्वमा इङ्ग्ल्यान्ड सन् २०१८ यता चौथोपटक ठूलो प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो । टोली ६० वर्ष लामो प्रमुख उपाधिको खडेरी अन्त्य गर्दै फाइनल पुग्ने लक्ष्यमा छ ।

अर्कोतर्फ, साविक विजेता अर्जेन्टिना लगातार दोस्रो विश्वकप फाइनलमा पुग्ने लक्ष्यसहित मैदान उत्रँदैछ । प्रशिक्षक लियोनेल स्कालोनीको टोलीले यस विश्वकपमा लगातार ६ खेल जितेको छ भने पछिल्ला चार खेलमा प्रत्येकमा तीन–तीन गोल गरेको छ । अर्जेन्टिनाले प्रतियोगितामा हालसम्म सर्वाधिक १७ गोल गरेको छ ।

कप्तान लियोनेल मेस्सीले आठ गोलसहित फ्रान्सका किलियन एम्बाप्पेसँग संयुक्त रूपमा सर्वाधिक गोलकर्ताको स्थानमा छन् । क्वार्टरफाइनलमा स्विट्जरल्यान्डविरुद्ध गोल नगरे पनि उनले एलेक्सिस म्याक एलिस्टरको गोलका लागि अवसर सिर्जना गर्दै लगातार दोस्रो विश्वकपमा १० भन्दा बढी गोलमा प्रत्यक्ष योगदान दिने कीर्तिमान बनाए ।

सेमिफाइनलअघि अर्जेन्टिनाले फिफाको विशेष अनुमतिमा आफ्नो ऐतिहासिक निलो ‘अवे’ जर्सी लगाउने भएको छ । यही जर्सीमा उसले सन् १९८६ र १९९८ को विश्वकपमा इङ्ग्ल्यान्डलाई हराएको थियो । इङ्ग्ल्यान्ड भने परम्परागत सेतो पोसाकमै मैदान उत्रिनेछ ।

विश्वकपसहित सबै अन्तर्राष्ट्रिय प्रतियोगितामा यी दुई टोली १४ पटक आमनेसामने भएका छन् । इङ्ग्ल्यान्डले ६ खेल जितेको छ भने अर्जेन्टिनाले दुई खेलमा सफलता हासिल गरेको छ । बाँकी ६ खेल बराबरीमा टुंगिएका छन् । जसमध्ये एक खेलमा अर्जेन्टिनाले पेनाल्टी सुटआउटमार्फत जित निकालेको थियो । सन् १९८६ यता निर्धारित ९० मिनेटभित्र अर्जेन्टिनाले इङ्ग्ल्यान्डलाई हराउन सकेको छैन भने पछिल्ला पाँच भेटमा इङ्ग्ल्यान्ड अपराजित छ । दुई टोलीबीचको पछिल्लो भेट सन् २००५ को मैत्रीपूर्ण खेलमा भएको थियो । जहाँ इङ्ग्ल्यान्डले ३–२ को रोमाञ्चक जित निकालेको थियो ।

चार दशकभन्दा लामो इतिहास, फकल्यान्ड युद्धको पृष्ठभूमि, म्याराडोना र बेकह्यामले बनाएको विरासत तथा अहिले मेस्सी र केनको नेतृत्वमा विश्वकप फाइनलको दौडजस्ता कारणले बुधबारको सेमिफाइनल एउटा फुटबल खेल नभई विश्व फुटबलकै सबैभन्दा ठूलो प्रतिद्वन्द्विताको अर्को ऐतिहासिक अध्याय बन्ने देखिन्छ ।

तपाइको प्रतिक्रिया
भारतीय चार विश्वविद्यालयका ११४ जनाको समकक्षता त्रिविद्वारा खारेज
प्रतिनिधिसभा साउन १४ सम्म स्थगित
कोशीको सम्भावित सत्ता समीकरण : नेकपालाई फकाउँदै कांग्रेस–एमाले
विराटनगरमा दिनबन्धु गोयल सम्मानित
सरकारी विज्ञापनमा ‘एकद्वार प्रणाली’ लागू गर्ने सरकारको निर्णय सर्वोच्चद्वारा खारेज
सम्पत्ति छानबिन आयोगसम्बन्धी मुद्दामा चार कानुनविद् अदालतको सहयोगी नियुक्त
तीन महिनामै नेप्सेमा ठूलो पहिरो, लगानीकर्ताको सम्पत्तिमा झन्डै ६ खर्ब रुपैयाँको क्षति
सुकुम्वासी पुनर्स्थापनामा संसद्‌मा जरुरी प्रस्ताव
सुरक्षा र कूटनीतिमा असर पर्ने फिल्मलाई प्रदर्शन अनुमति नदिइने
सर्वोच्चको अन्तरिम आदेशपछि सम्पत्ति छानबिन आयोगको काम रोकियो
विश्वकपको महायुद्ध : इतिहास बोकेको इङ्ग्ल्यान्ड र अर्जेन्टिना भिड्दै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.