
काठमाडाैं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
व्यवसायी दीपक भट्टको सम्पत्ति शुद्धीकरण कार्यमा ‘मतियार’को भूमिका निर्वाह गरेको आरोपमा उनीहरूमाथि मुद्दा दायर गरेकाे हाे ।
विशेष अदालतका अनुसार पौडेलमाथि २० करोड ९० लाख रुपैयाँ अवैध रूपमा शुद्धीकरण गरेको अभियोग लगाइएको छ । विभागले उक्त बिगो दाबी गर्दै पौडेलको बैंक खातामा रहेको ६ लाख ३४ हजार रुपैयाँ समेत जफत गर्न माग गरेको छ ।
विशेष अदालतका अनुसार मुद्दामा पौडेलसहित १० वटा कम्पनीहरूसहित १६ जनालाई प्रतिवादी बनाइएको छ। यसअघि नै अदालतमा दर्ता भइसकेको प्रतिवादी दीपक भट्टसमेतको सम्पत्ति शुद्धीकरणको मुद्दामा थप अनुसन्धान गरी अदालतमा विभागले पूरक अभियोग पत्र दर्ता गरेको हो ।
पूर्वअर्थमन्त्री पौडेलमाथि व्यवसायी दीपक भट्ट लगायतलाई गैरकानूनी सम्पत्ति लुकाउन तथा छल्ने वातावरण मिलाइदिएको आरोप छ। सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण ऐन, २०६४ बमोजिम उनले यस कसूरमा मतियारको रूपमा काम गरेको अभियोग पत्रमा उल्लेख छ ।
पूर्वअर्थमन्त्री पौडेलले पद र प्रभावको दुरुपयोग गरी ‘श्रीराम टोबाको उद्योग प्रालि’ को उच्च बजार मूल्य रहेको सेयरलाई अत्यन्तै न्यून मूल्यमा दीपक भट्टको कम्पनी ‘हिमालयन एसेस्ट म्यानेजमेन्ट प्रालि’ लाई दिलाउन सहजीकरण गरेको र त्यसबापत आर्थिक लाभ प्राप्त गरेको आरोप छ ।



















