सत्तारुढ सांसदलाई ‘कालो मसी’को चेतावनी दिने युवक पक्राउ

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण ७, बिहीबार ०८:०३
अनलाइन सट्टेबाजी गरेको अभियोगमा चार जना पक्राउ, करिब २ करोडको कारोबार

बारा । सामाजिक सञ्जालमार्फत सत्तारुढ दलका सांसद अरबिन्द साहलाई ‘कालो मसी दल्ने’ चेतावनी दिने एक युवक पक्राउ परेका छन् ।

बाराको निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद साहलाई ‘कालो मसी दल्ने’ चेतावनीसहित सामाजिक सञ्जालमा पोस्ट गरेका बाराका निजामुद्दिन अन्सारीलाई प्रहरीले पक्राउ गरेको हो । सांसद साहले विद्युतीय कारोबार ऐनअन्तर्गत उजुरी दिएपछि बुधबार दिउँसो अन्सारीलाई नियन्त्रणमा लिइएको बारा प्रहरी प्रमुख एसपी नरेन्द्र कुँवरले जानकारी दिए । उनका अनुसार अन्सारीलाई बिहीबार अदालतमा पेस गर्ने तयारी छ ।

Advertisement

अन्सारीले फेसबुकमार्फत सांसद साहले चुनावी घोषणापत्रअनुसार काम नगरेको आरोप लगाउँदै, जहाँ भेटिए पनि कालो मसी दल्ने चेतावनी दिएका थिए । अर्को पोस्टमा पनि उनले सांसद साहलाई निर्वाचन क्षेत्रमा आए कालो मसी दल्ने भन्दै खुला चुनौती दिएका थिए ।

प्रहरीका अनुसार विद्युतीय कारोबार ऐनले घृणा, द्वेष तथा अफवाह फैलाउने गतिविधिलाई निषेध गर्ने भएकाले उजुरीका आधारमा अन्सारीलाई नियन्त्रणमा लिइएको हो । अन्सारीका एक निकटस्थले भने सामाजिक सञ्जालमार्फत असन्तुष्टि व्यक्त गरेको र कुनै भौतिक विरोध कार्यक्रममा सहभागी नभएको दाबी गरेका छन् ।

नेपाली उनको पहिलो भाषा नभएकाले पोस्टको भाषामा त्रुटि हुन सक्ने भन्दै सामाजिक सञ्जालमा लेखेकै आधारमा पक्राउ गर्नु आवश्यक थियो वा थिएन भन्ने प्रश्नसमेत उठेको छ । त्यहाँमाथि चुनावी वाचा अनुसार काम गर्न नसकेका सत्तारुढ सांसदप्रति असन्तुष्टि नै व्यक्त गर्न नहुने हो ? भन्ने बहस पनि सुरु भएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×