
काठमाडौं । सनातन वैदिक परम्पराअनुसार आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीको अवसरमा आज (शनिबार)बाट देशभरका हिन्दु धर्मावलम्बीले घर–घरमा तुलसीको बिरुवा मोठमा सारेर विशेष पूजाआराधना सुरु गरेका छन् ।
परम्पराअनुसार एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिन तयार पारिएको तुलसीको दल हरिशयनी एकादशीको अवसरमा तुलसीको मोठमा सारिन्छ । तुलसीलाई भगवान् विष्णुको प्रतीकका रूपमा मानिने भएकाले शनिबारदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिनासम्म नियमित पूजा गर्ने चलन छ ।
धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्व सदस्य प्रा. डा. देवमणि भट्टराईका अनुसार आषाढ शुक्ल एकादशीदेखि भगवान् विष्णु क्षीरसागरमा शयन गर्ने धार्मिक विश्वास रहेकाले यस दिनलाई हरिशयनी एकादशी भनिन्छ । विष्णुको शयनकालका यी चार महिनालाई ‘चतुर्मास’ पनि भनिन्छ ।
वर्षभरिमा पर्ने २४ वटा एकादशीमध्ये धेरै श्रद्धालुले सबै एकादशीमा व्रत बस्ने गरे पनि नसक्नेहरूले चतुर्मासमा पर्ने आठ एकादशी वा हरिशयनी र हरिबोधिनी एकादशीमा मात्रै व्रत बस्ने परम्परा रहेको छ । एकादशीका दिन चामलबाट बनेका परिकार नखाई रोटी, ढिँडो तथा फलाहार ग्रहण गर्ने चलन छ ।
हरिशयनी एकादशीका अवसरमा काठमाडौंको बूढानीलकण्ठ, उपत्यकाका चार नारायणसहित देशभरका विष्णु तथा नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको उल्लेख्य भिड लागेको छ । धार्मिक महत्वसँगै तुलसीलाई वैज्ञानिक दृष्टिले पनि उपयोगी वनस्पतिका रूपमा लिइन्छ ।
तुलसीले वातावरण शुद्ध बनाउन, अक्सिजनको मात्रा बढाउन तथा विभिन्न रोगको घरेलु औषधिका रूपमा भूमिका खेल्ने विश्वास रहँदै आएको छ । घरमा तुलसीको मोठ राख्दा वातावरण सकारात्मक हुने र रोग सार्ने कीटाणु कम हुने जनविश्वास पनि छ ।
चतुर्मासभर विधिपूर्वक पूजा गरिएको तुलसीको कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन भगवान् दामोदरसँग वैदिक विधिअनुसार विवाह गराइन्छ । त्यसपछि हवनसहित चतुर्मास व्रतको समापन गर्ने धार्मिक परम्परा रहेको छ ।

























