ट्यांकरबाट हवाई इन्धन चोरी गर्ने पम्प सञ्चालकसहित ७ जना पक्राउ

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २२, शुक्रबार १०:१६
ट्यांकरबाट हवाई इन्धन चोरी गर्ने पम्प सञ्चालकसहित ७ जना पक्राउ

काठमाडौं । पर्सा प्रहरीले वीरगञ्जमा ट्यांकरबाट अनधिकृत रूपमा इन्धन चोरी गरिरहेको अवस्थामा एक पेट्रोल पम्प सञ्चालकसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका–१४ बाइपास सडक खण्डस्थित सौदागर आयल सेन्टरमा हवाई इन्धन चोरी भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार बिहीबार साँझ ५ः१० बजेतिर सौदागर पेट्रोल पम्पमा प्रहरी टोलीले छापा मारेको थियो । भारतबाट आईसीपी जाँच पास भई नेपाल भित्रिएको ना ७ ख १५३९ नम्बरको ट्यांकरबाट हवाई इन्धन निकाल्दै गरेको अवस्थामा उनीहरू पक्राउ परेका हुन् । कबिर ३ घण्टासम्म चलाएको उक्त अपरेसनका क्रममा उनीहरूलाई इन्धन चोरी गर्दागर्दै नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

Advertisement

इन्धन चोरी गरेको आरोपमा वीरगन्ज–३ का ५५ वर्षीय सुनैन मियाँ (पम्प संचालक), वीरगन्ज–१५ का २३ वर्षीय असलम हवारी (पम्पका लेखा हुन् ), वीरगन्ज–११ का २१ वर्षीय रफिक मियाँ (पम्पका क्यासियर), हेटौँडा उपमहानगरपालिका–११ का २० वर्षीय सन्देश राना मगर (ना ७ ख २८०४ नम्बरको ट्यांकरका सहचालक), हेटौँडा–१० का ४६ वर्षीय केशर राम सुनार ( ना ७ ख २८०४ नम्बरको ट्यांकरका चालक) पक्राउ परेका छन् ।

त्यस्तै, हेटौँडा–१४ का ५० वर्षीय मन्द सिंह लामा ( ना ७ ख १५३९ नम्बरको ट्यांकरका चालक) र हेटौँडा– १४ कै २७ वर्षीय उमेश राना मगर ( ना ७ ख १५३९ नम्बरको ट्यांकरका सहचालक) लाई इन्धन चोरी गर्दै गर्दा पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार यो गिरोहले सीमा नाकाबाट जाँच पास भई आएका पेट्रोलियम पदार्थ बोकेका ट्यांकरहरूबाट सेटिङ मिलाएर अनधिकृत रूपमा तेल निकाल्ने र त्यसलाई अवैध रूपमा बिक्री–वितरण गर्ने गरेको पाइएको छ । ना ७ ख १५३९ नम्बरको ट्यांकरमा जडान गरिएको सल फलामको पाइपको हुक प्रयोग गरी उचालेर तेल निकालिरहेको अवस्था प्रहरीले फेला पारेको थियो ।

पक्राउ परेका सातै जनालाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ । यस घटनामा अन्य व्यक्ति वा गिरोहको संलग्नताबारे पनि सूक्ष्म अनुसन्धान थालेको प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.