
विराटनगर । कोशी प्रदेशमा आधुनिक र प्रविधियुक्त सार्वजनिक यातायातको रूपमा ‘पोडवे’ निर्माण हुने भएको छ । यसका लागि कोशी प्रदेश लगानी प्राधिकरण र काठमाडौं पोडवे कम्पनी प्राइभेट लिमिटेडबीच औपचारिक सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
सम्झौता पत्रमा प्राधिकरणका तर्फबाट कार्यकारी प्रमुख सरोज कोइराला र काठमाडौं पोडवे कम्पनीका तर्फबाट उपाध्यक्ष निल भट्टराईले हस्ताक्षर गरेका हुन् । निजी क्षेत्रको लगानीमा निर्माण हुने यो परियोजना नेपालको सार्वजनिक यातायात क्षेत्रमा एक ऐतिहासिक सुरुवात हुने विश्वास लिइएको छ ।
सम्झौताअनुसार परियोजनाको पहिलो चरणमा विराटनगरको रानी भन्सारदेखि बसपार्कसम्मको सात किलोमिटर दूरीमा नमुना पोडवे निर्माण गरिने छ । यसको दोस्रो चरणमा भने पर्यटकीय स्थल भेडेटारसम्म पोडवे सेवा विस्तार गर्ने दीर्घकालीन लक्ष्य राखिएको छ ।
यो परियोजना उच्च प्रविधिको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र अत्याधुनिक प्रविधिमा आधारित हुनेछ । राष्ट्रिय यातायात नीति र कानुनी संरचनाभित्र रहेर निर्माण गरिने यो पोडवे पूर्णतः सुरक्षित, द्रुत र वातावरणमैत्री हुने कम्पनीले जनाएको छ ।
विज्ञहरूका अनुसार बढ्दो सवारी चाप र प्रदूषणलाई शून्यमा झार्न यो प्रविधि अत्यन्तै प्रभावकारी हुनेछ । यसले सहरी यातायातलाई सहज बनाउनुका साथै यात्रुहरूलाई विश्व स्तरीय यात्राको अनुभव प्रदान गर्नेछ ।
सम्झौतापछि बोल्दै काठमाडौं पोडवेका उपाध्यक्ष निल भट्टराईले नेपालमा निजी लगानीमा यति ठुलो र अत्याधुनिक सार्वजनिक यातायातको पूर्वाधार बन्नु गौरवको विषय भएको बताए । यो सम्झौतासँगै नेपालले विश्व स्तरीय आधुनिक यातायात प्रविधिलाई भित्र्याउँदै सार्वजनिक यातायातको सञ्जाल विस्तारमा एक नयाँ अध्यायको सुरुआत गरेको छ, उनले भने ।

























