
विराटनगर । मोरङको सुनबर्षी नगरपालिका-४ स्थित गान्धी आश्रम नजिकै एक महिला मृत अवस्थामा भेटिएकी छन्। दोहमना–-अमरदह भित्री सडक खण्डको चौबाटोमा रहेको गान्धी आश्रम स्मारकको पेटीमा स्थानीय ४२ वर्षीया किस्नी पासवान मंगलबार मृत अवस्थामा फेला परेकी हुन्।
सडकको चौबाटोमा महिला मृत अवस्थामा रहेको खबर पाउनासाथ इलाका प्रहरी कार्यालय दोहमनाबाट प्रहरी नायब निरीक्षक बल कुमार राईको कमाण्डमा टोली घटनास्थल पुगेको थियो। प्रहरीले टोलीले घटनास्थललाई सुरक्षित राखेर अनुसन्धान अघि बढाएको छ।
घटनाको थप अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि इलाका प्रहरी कार्यालय रङ्गेलीबाट प्रहरी निरीक्षक अशोक कुमार झाको कमाण्डमा थप प्रहरी टोली खटाइएको छ। महिलाको मृत्युको कारण भने खुल्न सकेको छैन र प्रहरीले घटनाबारे आवश्यक छानबिन गरिरहेको छ।

























