
काठमाडौं । माघ १ गतेभन्दा अगाडि इँटा उत्पादन नगर्न सरकारले दिएको निर्देशन पुनरावलोकन गरी खारेज गर्न माग गरिएको छ। सुनसरीको दुहबी-१० स्थित एबी ब्रिक एन्ड टाइल इन्डस्ट्रिज प्रालिका प्रबन्ध निर्देशक भीम घिमिरेले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवलाई निवेदन बुझाउँदै उक्त निर्णय फिर्ता लिन आग्रह गरेका हुन्।
उद्योग मन्त्रालय, उद्योग विभाग, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कोशी प्रदेश र उद्योग, कृषि तथा सहकारी मन्त्रालय कोशी प्रदेशले पत्र जारी गर्दै माघ १ गतेअघि इँटा उत्पादन नगर्न निर्देशन दिएका थिए। उक्त निर्देशनले इँटा उद्योगको उत्पादन प्रणाली, लगानी, श्रमिकको रोजगारी, बैंक कर्जा र समग्र राष्ट्रिय अर्थतन्त्रमा गम्भीर असर पार्ने घिमिरेले बताएका छन्।
इँटा उद्योग मौसमी प्रकृतिको हुने र यसको उत्पादन मौसम, तापक्रम तथा श्रमिकको उपलब्धतामा निर्भर रहने भएकाले प्रशासनिक आदेशले अवधि सीमित गर्नु उद्योगको प्रकृतिविपरीत हुने निवेदनमा उल्लेख छ। नेपालको संविधानले उद्योग व्यवसाय सञ्चालनको स्वतन्त्रता दिएको र निजी क्षेत्रको लगानी संरक्षण गर्ने नीति लिएको भन्दै यस्ता प्रशासनिक निर्णय संवैधानिक अधिकार र कानूनी शासनको सिद्धान्तविपरीत हुने घिमिरेले जनाएका छन्।
उत्पादनमा कृत्रिम रोक लगाउँदा उद्योगीको लगानी जोखिममा पर्नुका साथै निर्माण सामग्रीको आपूर्ति र विकास निर्माणका आयोजना प्रभावित हुने पत्रमा उल्लेख छ। उद्योगीहरू वातावरणीय र कानूनी मापदण्ड पालना गर्न प्रतिबद्ध रहेको स्पष्ट पार्दै घिमिरेले प्रचलित कानून अनुसार स्वतन्त्र रूपमा उद्योग सञ्चालन, बिक्री वितरण र सेवा प्रवाह गर्ने वातावरण मिलाउन सरकारसँग माग गरेका छन्।
निवेदनको बोधार्थ प्रधानमन्त्री, उद्योगमन्त्री, अर्थमन्त्री, गृहमन्त्री, कोशी प्रदेशका मुख्यमन्त्री, जिल्ला प्रशासन कार्यालय सुनसरी, नेपाल उद्योग परिसंघ कोशी प्रदेश र कोशी इँटा उद्योग व्यवसायी संघलाई समेत दिइएको छ।

























