
विराटनगर । विराटनगरस्थित ब्राइट भिजन ल कलेजमा कानुनका विद्यार्थीहरूलाई अदालती प्रक्रियाको व्यावहारिक ज्ञान प्रदान गर्ने उद्देश्यले ‘मूटकोर्ट’ (नमुना अदालत) प्रतियोगिता सुरु भएको छ । कलेजका प्रमुख एवं वरिष्ठ अधिवक्ता चूडामणि आचार्यले प्रतियोगिताको शुभारम्भ गरे ।
कानुन अध्ययनमा सैद्धान्तिक ज्ञानसँगै अभ्यासगत सीप आवश्यक हुने भएकाले विद्यार्थीलाई बहस पैरवी, मिसिल तयारी, बहस नोट लेखन र अदालती मर्यादाबारे जानकारी दिन यो अभ्यास गराइएको कलेजले जनाएको छ । वास्तविक अदालतको झल्को दिने गरी सञ्चालित इजलासमा विद्यार्थीहरूले न्यायाधीश र कानुन व्यवसायीको भूमिकामा रहेर काल्पनिक मुद्दाहरूमाथि बहस गरेका थिए ।
कलेज प्रमुख आचार्यका अनुसार यस वर्ष प्रतियोगितामा विद्यार्थीको आकर्षण उल्लेख्य बढेको छ । गत वर्ष १६ समूह सहभागी भएकोमा यस वर्ष बीएएलएलबीको पाँच वटै सेमेस्टरमा अध्ययनरत ५ सय विद्यार्थी मध्ये १०४ विद्यार्थी समेटिएका २६ समूह प्रतिस्पर्धामा छन् । विद्यार्थीहरूले सुन चोरी, संगठित अपराध, अपहरण र कर्तव्य ज्यान जस्ता जटिल काल्पनिक घटनालाई मुद्दाका रूपमा प्रस्तुत गरिरहेका छन् ।
विद्यार्थी सहजकर्ता नारायण चौलागाईंका अनुसार मूटकोर्टले कक्षा कोठाको ज्ञानलाई व्यवहारमा उतार्न र आत्मविश्वास बढाउन ठुलो सहयोग पुर्याएको छ । यसले भविष्यमा कानुन व्यवसायमा प्रवेश गर्दा आवश्यक पर्ने शोध र प्रस्तुति कलाको विकास गर्ने विश्वास लिइएको छ ।
कुल १३ वटा नमुना इजलासमा भइरहेको प्रारम्भिक प्रतिस्पर्धाबाट उत्कृष्ट ८ समूह क्वार्टर फाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगिताको फाइनल भदौ ६ गते हुने कलेजले जनाएको छ ।
प्रतियोगितामा प्रथम हुने समूहले १३ हजार, दोस्रोले ७ हजार ५ सय र तेस्रो हुनेले ५ हजार रुपैयाँ नगद पुरस्कारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै, उत्कृष्ट बहसकर्ता र उत्कृष्ट बहस नोट तयार गर्ने विद्यार्थीलाई जनही ४ हजार रुपैयाँले पुरस्कृत गरिनेछ

























