
विराटनगर । पूर्वी नेपालको सामाजिक सेवाको इतिहासमा एउटा अविचलित खम्बाका रूपमा चिनिएको रोटरी क्लब अफ विराटनगरले आफ्नो स्थापनाको ५० औँ वर्ष पूरा गरी ‘स्वर्ण जयन्ती’ मनाएको छ । सन् १९७७ अगस्ट २२ मा स्थापित यो क्लब नेपालकै दोस्रो रोटरी क्लब हो, जसले पाँच दशकदेखि शिक्षा, स्वास्थ्य र मानवीय सेवाका क्षेत्रमा अमिट छाप छोड्न सफल भएको छ ।
विराटनगरको आदर्श पुस्तकालयको व्यवस्थापन र स्वास्थ्य क्षेत्रमा निःशुल्क क्लिनिकबाट सुरु भएको यस क्लबको यात्रा आज बहुआयामिक बनेको छ । २८ जना चार्टर सदस्यहरूबाट सुरु भएको क्लबले सन् १९९२ मा महिलाहरूलाई पूर्ण सदस्यता प्रदान गरी सामाजिक समावेशिताको नयाँ अध्याय सुरु गरेको थियो ।
कार्यक्रममा बोल्दै रोटरी इन्टरनेशनल (२०२७–२९) का डाइरेक्टर वासुदेव गोल्यानले क्लबको ५० वर्षको यात्रालाई ‘अग्रजहरूले निर्माण गरेको सेवाको बलियो जग’ का रूपमा चित्रण गरे । उनले आगामी दिनमा युवा सहभागिता र नेतृत्व विकासलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।
यस्तै, रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटानका गभर्नर विष्णुबहादुर कार्कीले यस क्लबको इतिहासलाई समाज रूपान्तरणको एउटा निरन्तर अभियानको रूपमा प्रशंसा गरे ।
स्वर्ण जयन्तीकै अवसरमा क्लबले दिवंगत पूर्वअध्यक्ष तथा पूर्वडिस्ट्रिक्ट गभर्नर सन्तोष रिजालको स्मृतिमा ‘पीडीजी आरटीएन सन्तोष रिजाल मेमोरियल क्रिकेट कप’ आयोजना गर्ने घोषणा गरेको छ । खेलकुदका माध्यमबाट युवा पुस्तामा रोटरीको सेवा भाव र नेतृत्व विकास गर्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
क्लबले गर्दै आएको मुख्य योगदानहरू सन् १९८४ मा क्षयरोग निवारणका लागि अक्षय कोष स्थापना, निःशुल्क फिजियोथेरापी सेन्टर र विभिन्न विशेषज्ञ स्वास्थ्य शिविरहरू सञ्चालन गर्दै आएको छ । आदर्श पुस्तकालयको भवन निर्माण र शैक्षिक सुधारका गतिविधिका साथै विद्यालय पुनर्निर्माण, शैक्षिक सामग्री प्रदान, भूकम्प र बाढीका समयमा तत्काल राहत र क्षतिग्रस्त विद्यालयहरूको पुनर्निर्माण, कोशी अस्पतालमा आवास निर्माण तथा साना किसानहरूका लागि सिँचाइ र तालिमको व्यवस्था जस्तो धेरै सामाजिक कार्य गर्दै आएको छ ।
क्लबको पहिलो नेतृत्व पूर्वप्रधानमन्त्री नगेन्द्रप्रसाद रिजालले गरेका थिए । सोही विरासतलाई थाम्दै क्लबले आज विराटनगर र आसपासका क्षेत्रमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा समेत आफ्नो पहिचान बनाएको छ । स्वर्ण जयन्ती समारोहले विगतका उपलब्धिहरूको समीक्षा गर्दै आगामी दिनमा वातावरण संरक्षण, प्रविधि र दिगो विकासका क्षेत्रमा नयाँ उचाइ तय गर्ने संकल्प गरेको छ ।



















