
एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आर्थिक, सामाजिक तथा राजनीतिक रूपमा ‘धराशायी’ भइरहेको दाबी गरेका छन्। वाशिङ्टनले तेहरानविरुद्ध नयाँ आर्थिक दबाब अभियानका विवरण सार्वजनिक गर्ने तयारी गरिरहेका बेला इरानले भने अमेरिकी कदमलाई आफ्नो हार स्वीकार गरेको संकेतका रूपमा व्याख्या गरेको छ।
करिब ६ महिनादेखि जारी युद्धपछि दुवै पक्ष गतिरोधमा फसेका छन्। शान्ति वार्ता ठप्प छ भने इरानले महत्त्वपूर्ण हर्मुज जलसन्धि बन्द राखेको छ। अमेरिकाले पनि इरानविरुद्धको नौसैनिक प्रतिबन्ध कायम राखेको छ।
युद्धका कारण उत्पन्न आर्थिक असरलाई लिएर घरेलु राजनीतिमा दबाब खेपिरहेका ट्रम्पले सैन्य कारबाहीसँगै आर्थिक दबाबलाई प्राथमिकता दिन थालेका छन्। उनले सोमबार आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसल’मा इरान “पूर्ण रूपमा धराशायी भएको” दाबी गरेका हुन्।
ट्रम्पको यस्तो टिप्पणी अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले फाइनान्सियल टाइम्सका लागि लेखेको स्तम्भमा तेहरानविरुद्ध ‘आर्थिक सङ्कट’ सुरु भएको घोषणा गरेको केही घण्टापछि आएको हो। बेसेन्टले इस्लामिक गणतन्त्र इरानलाई सहयोग जारी राख्ने कुनै पनि देश ‘विश्वव्यापी बहिष्कृत’ बन्न सक्ने चेतावनी दिएका छन्।
बेसेन्टले सामाजिक सञ्जाल एक्समार्फत अमेरिकाले इरानको सैन्य क्षमता ध्वस्त पारेको, करिब सबै सैन्य कारखाना नष्ट गरेको र उसको परमाणु कार्यक्रम विफल पारेको दाबी गरेका छन्। इरानले भने अमेरिकी पछिल्ला कदमको चुनौतीपूर्ण ढङ्गले प्रतिक्रिया दिएको छ। तेहरानले अमेरिकी आर्थिक दबाबका पछिल्ला उपायहरू सैन्य हार स्वीकार गरेको प्रमाण भएको दाबी गर्दै अन्य देशलाई वाशिङ्टनलाई सहयोग नगर्न चेतावनीसमेत दिएको छ।

























