
विराटनगर । इस्लाम धर्मका अन्तिम हजरत मोहम्मदको १५०१ औँ जन्म जयन्ती बुधबार (आज) देशभर श्रद्धा र भक्तिपूर्वक मनाइयो । यस अवसरमा विराटनगरसहित देशका विभिन्न भागमा धार्मिक र्याली, सभा र प्रवचन लगायतका कार्यक्रम आयोजना गरिएको थियो ।

विराटनगरमा निकालिएको र्यालीमा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गोम्बु शेर्पा लगायतको सहभागिता रहेको थियो । मुस्लिम समुदायले मोहम्मदलाई मार्गदर्शकका रूपमा सम्मान गर्दै उनको मानवता, शान्ति, सदाचार र सामाजिक न्यायको सन्देशलाई विशेष महत्वका साथ स्मरण गरिरहेका छन् ।

साउदी अरबको मक्कामा जन्मिएर मदिना पुगी इस्लाम धर्मको प्रचार गरेका मोहम्मदमाथि नै पवित्र ग्रन्थ ‘कुरान’ अवतरण भएको विश्वास गरिन्छ । यो जयन्तीलाई केवल धार्मिक उत्सवका रूपमा मात्र नभई सामाजिक सद्भाव र एकता अभिवृद्धि गर्ने अवसरका रूपमा समेत लिने गरिएको छ ।
























