भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएकाको विवरण उपलब्ध गराउन मोरङ प्रशासनको अनुरोध

Share this
715shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ११, बिहीबार १०:११

विराटनगर । रसुवा, धादिङ र नुवाकोटलगायतका जिल्लामा गएको भीषण बाढीका कारण बेपत्ता भएका मोरङका बासिन्दाको विवरण उपलब्ध गराइदिन जिल्ला प्रशासन कार्यालय मोरङले सबैलाई अनुरोध गरेको छ ।

कामको सिलसिलामा ती क्षेत्रमा पुगेका मोरङका केही व्यक्ति सम्पर्कविहीन भएको हुन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले विवरण उपलब्ध गराउन आग्रह गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी पवनराज कोइरालाले बिहीबार एक सूचना जारी गर्दै बाढी प्रभावित क्षेत्रमा कामको सिलसिलामा गएका व्यक्तिहरू सम्पर्कविहीन भएको भए उनीहरूको नामथर, वतन र सम्पर्क नम्बर उपलब्ध गराउन सम्बन्धित परिवार तथा सरोकारवालालाई अनुरोध गरेका छन् ।

Advertisement

उनका अनुसार सम्पर्कविहीन व्यक्तिको विवरण जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र (डीईओसी) मोरङमा उपलब्ध गराउन सकिनेछ । त्यसका लागि टोल फ्री नम्बर १२३४ वा ल्याण्डलाइन नम्बर ०२१–५७०३८३ मा सम्पर्क गर्न प्रशासनले आग्रह गरेको छ ।

जिल्ला प्रशासन कार्यालय मोरङले भोटेकोशी बाढीका कारण प्रभावित क्षेत्रमा रहेका मोरङवासीको अवस्था पहिचान तथा आवश्यक समन्वयका लागि विवरण संकलन गर्न लागिएको जनाएको छ । सूचनामार्फत प्रशासनले सम्पर्कविहीन व्यक्तिका परिवार, आफन्त तथा सम्बन्धित सबैलाई यथाशीघ्र विवरण उपलब्ध गराउन आग्रह गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×