
काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीमा परी मृत्यु हुनेको संख्या २७० पुगेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार बिहीबार अपराह्नसम्म २७० जनाको शव भेटिएको हो ।
प्रहरीका अनुसार रसुवामा १७ जनाको शव भेटिएको छ । नुवाकोटमा १२ जना, धादिङमा २७ र चितवनमा १०८ जनाको शव फेला परेको छ । यसैगरी, गोरखामा २० जना, तनहुँमा ९ जना, नवलपरासी पूर्वमा ६२ जना र नवलपरासी पश्चिममा १५ जनाको शव फेला परेको प्रहरी प्रधान कार्यालय स्थित केन्द्रीय समाचार कक्षले जनाएको छ ।
बाढीमा परी अझैसम्म सयौं सम्पर्कविहीन छन् । सम्पर्कविहीन हुनेमा विदेशी पर्यटकको संख्या पनि उल्लेख्य छ । बाढीमा फसेकाहरू र कतिपय सम्पर्कविहीनहरूको खोजी गरी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतका सुरक्षाकर्मीले उद्धार गरिरहेका छन् । स्थानीय बासिन्दाले पनि उद्धारमा सहयोग गरिरहेका छन् ।
खोज तथा उद्धारका क्रममा घाइते भेटिएकाहरूलाई सेनाको हेलिकप्टर तथा केही निजी कम्पनीका हेलिकप्टरबाट पनि उद्धार गरी काठमाडौं ल्याउने क्रम जारी छ । वीर अस्पताल, टिचिङ लगायत अस्पतालहरूमा घाइतेको उपचार भइरहेको छ ।
नदी तटीय क्षेत्रका बासिन्दालाई अझै पनि उच्च सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ ।

























