
एजेन्सी । दक्षिणी अफ्रिकी मुलुक जिम्बाब्वेमा चर्चका सदस्य सवार मिनीबस र मालवाहक ट्रक ठोक्किँदा २७ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार शुक्रबार राति सम्मेलनमा सहभागी हुन जाँदै गरेको मिनीबस राजधानी हरारेबाट करिब १३२ किलोमिटर दक्षिणमा पर्ने चिभु सहरनजिकै ट्रकसँग ठोक्किएको हो ।
प्रहरी प्रवक्ता पल न्याथीका अनुसार अर्को सवारीलाई उछिन्ने क्रममा ट्रक मिनीबससँग ठोक्किएको थियो। दुर्घटनापछि मिनीबसमा आगलागी भएको थियो ।
२३ जनाको घटनास्थलमै र अन्यको उपचारका क्रममा मृत्यु भएको जनाइएको छ । जिम्बाब्वेमा तीव्र गति, लापरबाहीपूर्ण सवारी, क्षमताभन्दा बढी यात्रु बोक्ने प्रवृत्ति र सडकको खराब अवस्थाका कारण दुर्घटना हुने गरेका छन् ।

























