
काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) सरकारले बाढी प्रभावितको उद्धार तथा राहतका लागि १० मिलियन अमेरिकी डलर बराबरको आर्थिक सहयोग उपलब्ध गराउन तयार रहेको जनाएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीसँग आज (आइतबार) प्राधिकरणको कार्यालयमा भएको भेटमा युएई एडको टोलीले बाढी प्रभावित क्षेत्रमा आवश्यक सामग्री तथा सहयोग उपलब्ध गराउन आफूहरू तयार रहेको जनाएको हो ।
प्राधिकरणका अनुसार युएई एडको टोलीले बाढी प्रभावित क्षेत्रमा तत्काल आवश्यक पर्ने सामग्रीका विषयमा जानकारी लिएको थियो । सो क्रममा कार्यकारी प्रमुख उप्रेतीले अस्थायी पुल, पानी शुद्धीकरण तथा सरसफाइ र स्वच्छतासम्बन्धी सामग्री, ठूलो परिवारका लागि आवश्यक पर्ने पाल, चार्जिङ सुविधासहितका पोर्टेबल बत्ती, पोर्टेबल जेनेरेटर, सोलार प्यानल, स्याटेलाइट फोन तथा वाकीटकीलगायत सामग्री आवश्यक रहेको जानकारी गराएका थिए ।
प्राधिकरणले बाढी प्रभावित क्षेत्रमा आवश्यक सामग्री तथा उपकरणको प्राथमिकता र आवश्यकताबारे जानकारी गराएपछि युएईको टोलीले सोहीअनुसार सहयोग गर्न आफूहरू तयार रहेको जनाएको कार्यकारी प्रमुख उप्रेतीले बताए ।
भेटमा युएई एडका अन्तर्राष्ट्रिय सहायता निर्देशक डा. अहमद अल मन्सौरी, सहायता तथा स्थिरीकरण विशेषज्ञ मोहम्मद सलेम अल शाम्सी, मानवीय सहायता प्रतिक्रिया संयोजक सलेम हमेद अल नुआइमीलगायत सहभागी थिए ।

























