
विराटनगर । इलामको देउमाई नगरपालिकाका बुद्धिसागर न्यौपाने र खिनमाया न्यौपाने गोसाइँकुण्ड तीर्थयात्राका लागि गएका बेला भोटेकोशी नदीमा आएको बाढीपछि सम्पर्कविहीन भएका छन् । उनीहरू सम्पर्कविहीन भएको आज (मंगलबार) ६ दिन पुगे पनि अहिलेसम्म कुनै जानकारी प्राप्त हुन नसकेको परिवारले जनाएको छ ।
सम्पर्कविहीन दम्पतीका छोरा राजेश न्यौपानेले सामाजिक सञ्जालमार्फत बुबाआमाको खोजीमा सहयोग गरिदिन अपिल गरेका छन् । उनका अनुसार परिवारले विभिन्न ठाउँमा सम्पर्क गरी खोजी गरिरहेको छ । खोजीका क्रममा परिवारका सदस्य नुवाकोटसम्म पुगे पनि आफैंले थप खोजी गर्न सक्ने अवस्था नरहेको उनले बताएका छन् ।
राजेशले नेपाल सरकार, नेपाली सेना, सशस्त्र प्रहरीलगायत सुरक्षा निकायबाट खोज तथा उद्धारमा सहयोग भइरहेको बताएका छन् । उनले बुबाआमा सकुशल भेटिनेमा परिवार अझै पूर्ण विश्वस्त रहेको उल्लेख गरेका छन् ।
उनले बुबाआमाको अवस्थाबारे कुनै जानकारी प्राप्त भए परिवारलाई खबर गरिदिन आग्रह गरेका छन् । धेरै व्यक्ति सम्पर्कमा आएर चासो र सहयोग देखाइरहे पनि सबैको फोन तथा सन्देशको जवाफ दिन नसकेको भन्दै उनले क्षमा मागेका छन् ।
‘हामी केही समय प्रतीक्षा र आशामै छौँ । अवश्य आमाबुबा सकुशल भेटिनुहुनेछ र भगवानले हाम्रो परिवारको मिलन गराउनुहुनेछ भन्नेमा पूर्ण विश्वस्त छौँ,’ राजेशले अपिलमा भनेका छन् ।
उनले बुबाआमाको खोजीमा अझै सबैको साथ र सहयोग आवश्यक रहेको भन्दै उनीहरूबारे कुनै सूचना वा जानकारी भए परिवारलाई सम्पर्क (9849638548, 9861293344, 9841959838, 9841898020) गरी सहयोग गरिदिन आग्रह गरेका छन् ।


























