विराटनगरमा ५९ औँ राधाकृष्ण रथयात्राको तयारी पूरा 

Share this
812shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १७, बुधबार १६:४७
 विराटनगरमा ५९ औँ राधाकृष्ण रथयात्राको तयारी पूरा 

विराटनगर । विराटनगरको धार्मिक तथा सांस्कृतिक पहिचानसँग जोडिएको ५९ औँ राधाकृष्ण रथयात्राको तयारी पूरा भएको छ ।

विराटनगर–१ स्थित राधाकृष्ण मन्दिरबाट हरेक वर्ष श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिँदै आएको रथयात्रा यस वर्ष भदौ २० गते शनिबार दिउँसो ३ः३० बजे निकालिने भएको हो । राधाकृष्ण रथयात्रा समारोह समितिले बुधबार पत्रकार सम्मेलन गर्दै रथयात्राबारे जानकारी दिएको हो। समितिका अध्यक्ष कैलाश रेग्मीका अनुसार यस वर्षको रथयात्रामा ५ लाखभन्दा बढी भक्तजन सहभागी हुने अपेक्षा गरिएको छ।

Advertisement

यस वर्ष रथयात्रासँगै रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकका लागि आर्थिक सहयोग संकलन गर्न तीन वटा दानपेटी पनि नगर परिक्रमा गराइने भएको छ । दानपेटीमा संकलन भएको सम्पूर्ण रकम बाढीपीडितको सहयोगका लागि उपलब्ध गराइने अध्यक्ष रेग्मीले बताए ।

राधाकृष्ण मन्दिरबाट सुरु हुने रथयात्राले तीनपैनी चोक, गोल्छा चोक, मेनरोड, ट्राफिक चोक, रोडशेष चोक, महेन्द्र चोक, कोसी राजमार्ग, बरगाछी पूर्वतर्फ दुर्गा चोक हुँदै मन्दिरमा पुगेर रथयात्रा सम्पन्न हुनेछ । यात्राले ८ किलोमिटरको दूरी पूरा गर्ने छ । रथले ४४ स्थानमा विश्राम लिनेछ।

पत्रकार सम्मेलनमा बोल्दै जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी सन्तोष श्रेष्ठले रथयात्राको सुरक्षाका लागि व्यापक रूपमामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिने बताए । उनले रथयात्रामा सहभागी हुने भक्तजनलाई महँगा गरगहना लगाएर नआउन आग्रह गर्दै बालबालिका तथा वृद्धवृद्धालाई सकेसम्म नल्याउन अनुरोध गरेका छन् ।

विक्रम संम्वत १९८८ सालमा राधाकृष्ण मन्दिरको स्थापना भएकै वर्षदेखि राधाकृष्णलाई ‘खट’ मा राखेर यात्रा निकाल्ने परम्परा सुरु भएको थियो । २०२५ सालमा रथ निर्माण गरी ‘खट यात्रा’ लाई रथयात्राका रूपमा निकाल्न थालिएको हो । पेगोडा शैलीमा निर्माण गरिएको रथ १९ फिट लामो, १४ फिट चौडाइ र २१ फिट ३ इन्च अग्लो छ । रथको जुवाको भाग ८ फिट रहेको छ । रथको अग्र भागमा जुवाबाट दायाँ र बायाँ १६५ फिट लामो डोरी रहेको छ । उक्त डोरी समाएर रथ तान्दा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहँदै आएको छ।

रथयात्रामा विभिन्न जातजाति, धर्म, सम्प्रदाय र संस्कृतिको प्रतिनिधित्व गर्ने झाँकी तथा भजन मण्डली सहभागी हुनेछन् । नेपालसँगै भारतका विभिन्न स्थानबाट समेत लाखौँ भक्तजन रथयात्रामा सहभागी हुँदै आएका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×