
काठमाडौं । सर्वोच्च अदालतको निर्माणाधीन नयाँ भवनको अन्डरग्राउन्डमा राखिएका कागजात भएको कोठामा आगलागी भएको छ । बुधबार राति करिब १२ बजे धुवाँ र आगोको गन्ध आएपछि चौकीदारले आगलागी भएको थाहा पाएका थिए। तत्काल मुख्य रजिस्ट्रार विमल पौडेललाई खबर गरिएको थियो। त्यसपछि दमकल बोलाएर आगो निभाइएको थियो ।
प्रहरीका अनुसार आगलागीको कारण खुलेको छैन । सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले घटनास्थलमा पावर सकेट भेटिएकाले त्यहीँबाट आगो लागेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको बताए ।
‘अन्डरग्राउन्डमा राति आगो लागेको थियो । नजिकै पावर सकेट भेटिएको छ । पावर सकेटबाट आगो लागेको प्रारम्भिक अनुमान छ,’ कोइरालाले भने, ‘अभिलेख फाँटको छेऊमा तत्काल काम नलाग्ने कागजहरू राखिएका थिए । त्यही कोठामा राखिएका कागजात जलेका छन् ।’
उनका अनुसार जलेका कागजात तत्काल प्रयोगमा नआउने प्रकृतिका थिए । निर्माणाधीन नयाँ भवनमा कामदारहरू समेत बस्ने गरेका छन्। आगलागीबाट मानवीय क्षति भएको विवरण अहिलेसम्म प्राप्त नभएको प्रहरीले जनाएको छ ।
घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ। अनुसन्धानपछि आगलागीको वास्तविक कारण खुल्ने प्रवक्ता कोइरालाले बताए ।

























