सैन्य परिसरमा शक्तिशाली विस्फोट हुँदा ठूलो हताहती

Share this
812shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भदौ २०, शनिबार ०९:४३

एजेन्सी । बोलिभियाको एक सैन्य परिसरमा ठूलो हताहती हुने गरी शक्तिशाली विस्फोट भएको छ । उक्त घटनामा परेर कम्तीमा १० जनाको मृत्यु भएको छ भने ६२ भन्दा बढी घाइते भएका छन् ।

स्थानीय स्वास्थ्य अधिकारीका अनुसार मृतकको संख्या अझै बढ्न सक्ने आशंका गरिएको छ । राजधानी लापाजबाट करिब ३० किलोमिटर टाढा रहेको वियाचाको सैन्य परिसरमा स्थानीय समयअनुसार शुक्रबार दिउँसो करिब २ः३० बजेतिर विस्फोट भएको हो ।

अधिकारीहरूका अनुसार विस्फोट सैन्य परिसरको त्यस्तो क्षेत्रमा भएको थियो, जहाँ आतिशबाजी तथा पाइरोटेक्निक सामग्री भण्डारण गरिएको थियो । रक्षा मन्त्रालयको भण्डारमा राखिएका यिनै सामग्रीबाट विस्फोट सुरु भएको प्रारम्भिक अनुमान गरिए पनि वास्तविक कारण भने खुलिसकेको छैन ।

स्थानीय स्वास्थ्य निर्देशक रीटा नेब्रास्काका अनुसार घटनामा ६२ जना घाइते भएको प्रारम्भिक विवरण आएको छ । घाइतेमध्ये १४ जनालाई थप उपचारका लागि राजधानी लापाजका अस्पतालमा लगिएको छ । घाइतेमध्ये एक बालिका पनि रहेकी छन् । उनको शरीरको धेरै भागमा तेस्रो तहको जलन भएको बताइएको छ ।

विस्फोटको तीव्रताका कारण सैन्य परिसर आसपासका दर्जनौँ घरमा समेत क्षति पुगेको छ । धेरै घरका झ्यालका सिसा फुटेका छन् भने विस्फोटपछि त्रास फैलिएको छ ।

घटनालगत्तै आपत्कालीन सेवा, एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा प्रहरी टोली घटनास्थलमा परिचालन गरिएको थियो । उद्धार टोलीले घाइतेलाई तत्काल स्वास्थ्य संस्थामा पुर्‍याउनुका साथै प्रभावित क्षेत्रमा उद्धार तथा राहतको काम अघि बढाएको छ ।

यसैबीच, घटनास्थलमा पुनः विस्फोट हुन सक्ने जोखिम अझै कायम रहेको अधिकारीहरूले बताएका छन् । अग्निनियन्त्रकहरूले सैन्य परिसरभित्र तापक्रम उच्च रहेको एउटा स्रोत फेला पारेपछि स्थानीयलाई घटनास्थलबाट कम्तीमा १५० मिटर टाढा रहन आग्रह गरिएको छ ।

अधिकारीहरूले अहिले घटनास्थललाई सुरक्षित बनाउने, थप विस्फोटको जोखिम नियन्त्रण गर्ने र घाइतेको उपचार सुनिश्चित गर्ने कामलाई प्राथमिकता दिएका छन् । विस्फोटबाट भएको क्षतिको विस्तृत विवरण संकलन भइरहेको छ । घटनाको कारण पत्ता लगाउन सम्बन्धित निकायले अनुसन्धानसमेत सुरु गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.