
काठमाडौं । मनसुनको न्यूनचापीय रेखा नेपाल नजिक रहेकाले देशभर वर्षाको सम्भावना बढेको छ। आइतबार भोटेकोशी र त्रिशूलीसहित विभिन्न नदी तथा खोलामा बहाव उल्लेख्य बढ्न सक्ने भन्दै बाढी पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ।
महाशाखाका अनुसार रसुवा र नुवाकोट भएर बहने भोटेकोशी, त्रिशूली तथा आसपासका स–साना नदीमा आकस्मिक बाढीको उच्च सम्भावना छ। काठमाडौंसहित ३८ जिल्लाका स–साना नदीमा भने बहाव बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ अर्थात् नेपालतिर नजिक रहेकाले कोशी, बागमती र गण्डकीसहित विभिन्न प्रदेशमा मेघगर्जन र चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना छ।
मौसमविद् हरिप्रसाद दाहालका अनुसार काठमाडौं उपत्यकामा पनि दिउँसो बादल बढ्दै मध्यम वर्षा हुने सम्भावना छ। दिउँसो १२–१ बजेपछि वर्षाको सम्भावना अझ बढ्ने देखिएको उनले बताए। वर्षासँगै नदी तथा खोलाको जलस्तर बढ्न सक्ने भएकाले नदी किनार र अन्य जोखिमयुक्त क्षेत्रमा बसोबास गर्नेहरूलाई सतर्क रहन मौसम तथा बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।

























