पटाका विस्फोट हुँदा १० जनाको मृत्यु, ६४ घाइते

Share this
698shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २२, सोमबार १०:३८

एजेन्सी। मेक्सिकोको मध्य क्षेत्रमा धार्मिक पर्वका क्रममा पटाका विस्फोट हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ भने ६४ जना घाइते भएका छन् ।

मेक्सिको राज्यको टेमास्काल्सिङ्गो नगरपालिकास्थित सान्ता मारिया कान्चेस्दा क्षेत्रमा शनिबार राति विस्फोट भएको हो । स्थानीय संरक्षक सन्तको सम्मानमा आयोजित धार्मिक पर्वका क्रममा चर्चनजिकै भण्डारण गरिएको पटाका तथा अन्य विस्फोटक सामग्री पड्किएको अधिकारीहरूले बताएका छन् ।

Advertisement

विस्फोटका कारण चर्चको पर्खालसहित संरचनाको केही भाग भत्किएको थियो । भग्नावशेषमा पुरिएका मानिसको उद्धारका लागि सुरक्षाकर्मी तथा उद्धार टोली परिचालन गरिएको थियो । घटनामा घाइते भएकाहरूलाई आसपासका अस्पतालमा लगिएको छ । घाइतेमध्ये दुई जना पादरीसमेत रहेको स्थानीय धर्माधिकारीले बताएका छन् ।

घटनापछि नागरिक सुरक्षा टोली, अग्निनियन्त्रक, प्रहरी र सुरक्षाकर्मीले उद्धार तथा खोजी कार्य गरेका थिए । घटनास्थलमा बाँकी रहेको विस्फोटक सामग्रीबाट थप जोखिम हुन नदिन आवश्यक सुरक्षा उपाय अपनाइएको अधिकारीहरूले जनाएका छन् । विस्फोटको ठ्याक्कै कारणबारे अनुसन्धान भइरहेको छ। मेक्सिको राज्यको महान्यायाधिवक्ताको कार्यालयले घटनाको अनुसन्धान अघि बढाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×