
धरान । कोशी प्रदेशमै पहिलो पटक धरानमा रात्रिकालीन ‘महिला अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल’ प्रतियोगिता हुने भएको छ।
महिला फुटबलको विकाससँगै धरानमा रात्रिकालीन अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिताको नयाँ अभ्यास सुरु गर्न लागिएको आयोजक डी १९ क्लब धरान–१९ ले पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिएको छ । आयोजक क्लबका अनुसार धरान रंगशालामा कात्तिक २८ देखि मंसिर ६ गतेसम्म प्रतियोगिता हुने भएको हो ।
प्रतियोगितामा नेपालका ३ विभागीय टोलीसहित भारतको एक टोली र नेपालका विभिन्न जिल्लाका गरी ८ टोली सहभागिता रहने छ । प्रतियोगितामा विभागीय टोली सशस्त्र प्रहरी बलको (एपीएफ क्लब), नेपाल आर्मी क्लब र नेपाल पुलिस क्लबका साथै बागमती फुटबल क्लब, उदयपुर फुटबल क्लब, काँकडभिट्टा ट्रेनिङ सेन्टर झापा र धरानको स्वर्णिम फुटबल क्लबले प्रतिस्पर्धा गर्नेछन् । पाहुना टोली भारतको झारखण्डस्थित आक्वा फुटबल क्लबले पनि प्रतियोगितामा खेल्ने छ ।
प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ तथा उपविजेताले ३ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
त्यस्तै, व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलरक्षक, डिफेन्स, मिडफिल्ड, फरवार्ड, प्रशिक्षक र सर्वाधिक गोलकर्तालाई जनही १५ हजार रुपैयाँ प्रदान गरिने छ । प्रतियोगिताकै उत्कृष्ट खेलाडीलाई ईभी स्कुटर पुरस्कार दिइने छ ।



















