
एजेन्सी । करिब २४० यात्रु सवार इन्डोनेसियाली यात्रुवाहक जहाज जाभा सागरमा सम्पर्कविहीन भएको इन्डोनेसियाली खोज तथा उद्धार अधिकारीहरूले आइतबार बताएका छन् ।
दक्षिण कालीमन्तान प्रान्तको खोज तथा उद्धार निकायका अनुसार जहाज पूर्वी जाभाको सुराबायाबाट दक्षिण कालीमन्तानको बान्जारमासिनतर्फ गइरहेको थियो । यात्राका क्रममा जहाजसँग सम्पर्क टुटेको हो ।
अधिकारीहरूका अनुसार जहाजको अन्तिम ज्ञात अवस्थिति बान्जारमासिनस्थित खोज तथा उद्धार केन्द्रबाट करिब ८० समुद्री माइल टाढा रहेको थियो ।
जहाजसँग सम्पर्क टुटेपछि खोजीका लागि एउटा उद्धार जहाज घटनास्थलतर्फ पठाइएको छ । उद्धार टोलीले जहाजको अवस्थिति पत्ता लगाउनुका साथै त्यसमा सवार यात्रुको खोजी गरिरहेको छ ।
प्रारम्भिक जानकारीअनुसार सम्पर्क टुट्नुअघि जहाजले खराब मौसमको सामना गरेको थियो । समुद्री क्षेत्रमा देखिएको प्रतिकूल मौसमका कारण जहाजको यात्रा प्रभावित भएको हुन सक्ने अधिकारीहरूले बताएका छन् ।
हालसम्म घटनामा कुनै मानवीय क्षति भएको जानकारी प्राप्त भएको छैन । करिब २४० यात्रु सवार रहेकाले खोज तथा उद्धार अभियानलाई तीव्र बनाइएको अधिकारीहरूले बताएका छन् ।



















