
इटहरी । उच्च अदालत विराटनगर बारका पूर्वअध्यक्ष तथा वरिष्ठ अधिवक्ता योगेन्द्रकुमार शर्मा न्यौपानेको ८० वर्षको उमेरमा निधन भएको छ ।
विराटनगर बारका संस्थापक सचिवसमेत रहेका न्यौपानेको सोमबार बिहान ८ः२५ बजेतिर सुनसरीको इटहरी उपमहानगरपालिका–६ स्थित पिस जोज मार्गमा रहेको आफ्नै निवासमा निधन भएको हो । उनी विगत पाँच वर्षदेखि लिभर सिरोसिसबाट पीडित थिए ।
परिवारका अनुसार लामो समयदेखि उपचाररत न्यौपानेको स्वास्थ्यमा पछिल्लो समय थप जटिलता देखिएको थियो । स्वास्थ्यमा समस्या बढ्दै गएपछि केही समयदेखि घरमै उनको उपचार भइरहेको थियो ।
उनको निधनले कानुन व्यवसाय तथा न्याय क्षेत्रमा अपूरणीय क्षति पुगेको आफन्त, सहकर्मी तथा शुभेच्छुकहरूले बताएका छन् । स्वर्गीय न्यौपानेका पत्नी शारदा न्यौपाने, छोरा डा. योगेश न्यौपाने र छोरी इन्जिनियर उषा न्यौपाने छन् ।
उनले ५० वर्षदेखि कानुन व्यवसायको क्षेत्रमा योगदान दिएको कानुन व्यवसायीहरु बताउँछन् । न्यौपानेको बुढीगंगा–इटहरी आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

























