
काठमाडौं । न्याय परिषद् बैठकले उच्च अदालतका तीन र जिल्ला अदालतका १५ गरी १८ जना न्यायाधीशको सरुवा सिफारिस गरेको छ।
प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको अध्यक्षतामा मंगलबार बसेको बैठकले उच्च अदालत विराटनगरका न्यायाधीश महेन्द्रनाथ उपाध्यायलाई उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जमा सरुवा सिफारिस गरेको छ । त्यस्तै, मुरारीबाबु श्रेष्ठलाई उच्च अदालत जनकपुर र रितेन्द्र थापालाई उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जमा सरुवा गर्न सिफारिस गरिएको छ ।
बैठकले न्यायाधीश नातिबाबु लामिछानेलाई उच्च अदालत पाटनमा काज सरुवा गर्ने निर्णय गरेको छ । गोकर्ण डाँगी, शकुन्तला घिमिरे र अर्जुन अधिकारीलाई सर्वोच्च अदालतमा काज सरुवा गर्न पनि सिफारिस गरिएको छ ।
यस्तै, जिल्ला अदालततर्फ किशोर घिमिरे, दीपक ढकाल, सन्तोषप्रसाद पराजुलीसहित १५ जना न्यायाधीशको सरुवा सिफारिस भएको छ ।
यसैबीच, न्याय सेवा आयोगको बैठकले सर्वोच्च अदालतका रजिस्ट्रार द्वय ठगिन्द्र कट्टेल र बाबुराम दाहाललाई रजिस्ट्रार पदमा सिफारिस गर्ने निर्णय गरेको छ ।

























