
एजेन्सी । सुडानमा सुनखानी भत्किँदा कम्तीमा ६० साना खानी मजदुरको मृत्यु भएको छ । घटनामा धेरै मजदुर बेपत्ता भएको जनाइएको छ । पश्चिम कोर्डोफानको एल–नाहुद सहरनजिकै रहेको अल–जारा सुनखानी भत्किएपछि उद्धार अभियान सञ्चालन गरिएको थियो । उद्धारका क्रममा ६० जनाको शव निकालिएको जनाइएको छ ।
रातभर उद्धारमा खटिएका दुर्घटनाबाट बाँचेकाहरूले अझै केही मजदुर खानीको भग्नावशेषभित्र फसेको बताएका छन् । उनीहरूका अनुसार खानीमा कति जना फसेका छन् भन्ने यकिन हुन सकेको छैन ।
सन् २०२३ अप्रिलदेखि सुडानको सेना र अर्धसैनिक द्रुत समर्थन बल (आरएसएफ) बीच जारी युद्धले देशको अर्थतन्त्रमा गम्भीर असर पारेको छ । सुन उद्योगबाट प्राप्त आम्दानीले दुवै पक्षको युद्ध प्रयासलाई सहयोग पुर्याइरहेको बताइन्छ ।
द्वन्द्वका कारण सुडानमा ठूलो मानवीय संकट सिर्जना भएको छ । लाखौँ मानिस विस्थापित भएका छन् भने ठूलो संख्यामा नागरिक खाद्य संकटको सामना गरिरहेका छन् ।

























