
धर्म गौतमले लेख्नुभएको ‘बी.पी. र विद्रोहका ती दिन’ पढिसकें। लेखक स्वयंले सोधिखोजी गरेर तयार पार्नुभएको पुस्तक भएकाले पनि यसलाई पढ्नुपर्ने एक प्रकारको नैतिक दबाब थियो। यद्यपि, समय मिलाएर पढ्ने सोच पहिल्यै बनाएको थिएँ। पुस्तक हातमा लिएपछि भने सुरुदेखि अन्त्यसम्म पढेर नसकुन्जेल छाड्न मन लागेन।
बी.पी. कोइराला सम्भवतः नेपालका सबैभन्दा बढी लेखिएका र चर्चा गरिएका राजनीतिक व्यक्तित्व हुन्। उनको ‘आत्मवृत्तान्त’ र ‘जेल जर्नल’देखि बलदेव मजगैयाँ, रामचन्द्र पोखरेललगायतका लेखकले लेखेका बी.पी.सम्बन्धी पुस्तकहरू विद्यार्थी जीवनमै पढेको थिएँ। गौतमले पनि बी.पी.लाई निकै नजिकबाट बुझ्ने र उनीसँग सान्निध्य पाउने अवसर पाउनुभएको कुरा सुनेको थिएँ। तर त्यो निकटता कस्तो थियो? बी.पी.लाई नजिकबाट भेट्दा कस्तो अनुभव हुन्थ्यो? एउटा नेताको सार्वजनिक छविभन्दा पर, फरक–फरक व्यक्तिको नजरमा उनको मानवीय स्वभाव कस्तो थियो? यिनै जिज्ञासाले पुस्तकप्रति मेरो चासो बढाएको थियो।
धेरैका लागि नेता चिन्नु भनेको राजालाई चिन्नुजस्तै हुन्छ- टाढाबाट बनेको एकोहोरो परिचय। सार्वजनिक भाषण, राजनीतिक कर्म र बाहिर देखिने व्यक्तित्वबाट निर्मित छवि नै नेताको परिचय बन्छ। तर नजिकबाट भेटेको मानिसले त्यही व्यक्तित्वका सूक्ष्म र मानवीय पक्ष पनि देख्न सक्छ। धर्म गौतमले बी.पी.को विचार र व्यक्तित्वलाई यही निकट अनुभवको कोणबाट थप उजागर गरेका छन्।
बी.पी.को छायासँगै लेखकको आफ्नै यात्रा
बी.पी.को जीवन, चिन्तन र विचारबाट प्रभावित गौतमको आफ्नै राजनीतिक जीवन पनि इलामदेखि नक्सालबारी, बिहार, बनारस हुँदै काठमाडौंसम्म फैलिएको देखिन्छ। २०३३ सालमा बी.पी.को स्वदेशागमन र राष्ट्रिय मेलमिलापको प्रसंगबाट पुस्तकको विषयवस्तु उठान हुन्छ। त्यससँगै स्वनिर्वासित गौतमको आफ्नै सुखदुःख, संघर्ष र निर्वासनका कथा–व्यथाले पनि पाठकको ध्यान उत्तिकै तान्छन्।
विदेशी भूमिमा अपरिचित मानिसहरूबाट पाएको सहयोग र स्नेहप्रति लेखकको कृतज्ञता र विनम्रता पुस्तकका विभिन्न प्रसंगमा झल्किन्छ। पुस्तकका घटना र विषय केवल राजनीतिक छैनन्। व्यक्तिगत जीवन, परिवार, साथीभाइसँगको उठबस, भेटघाट, खानपान र दैनिक व्यवहारका प्रसंगले लेखकको स्वभाव, सामाजिक अन्तर्घुलन र बहिर्मुखी व्यक्तित्वलाई पनि देखाउँछन्।
कतिपय ठाउँमा बी.पी.सँगको सम्बन्धभन्दा लेखककै जीवन अगाडि आउँछ। यस अर्थमा यो बी.पी.को कथा मात्र होइन, एक अर्थमा लेखक स्वयंको जीवनकथा पनि हो। बी.पी.लाई सम्झँदै गौतमले आफ्नै विगत, आफ्ना संघर्ष र आफ्नो समयलाई पनि पुनः सम्झेका छन्।
संस्मरण, आख्यान र इतिहासको सीमारेखा
कृतिको शिल्पगत पक्ष पनि उल्लेखनीय छ। घटनाहरू सधैँ सोझो कालक्रममा अगाडि बढ्दैनन्। कतिपय प्रसंगले पाठकलाई अतीततिर फर्काउँछन्। लेखकले विगतका घटनालाई संस्मरणात्मक र आख्यानात्मक ढंगले प्रस्तुत गरेका छन्।
करिब पचास वर्षअघि घटेका घटनालाई पनि अत्यन्त वस्तुपरक र मिहीन ढंगले प्रस्तुत गरिएको छ। यति लामो समयपछि पनि घटना, व्यक्ति, परिवेश र संवादका सूक्ष्म विवरण सम्झेर प्रस्तुत गर्न सक्नु लेखकको असाधारण स्मरणशक्तिको परिणामजस्तो लाग्छ। कतिपय ठाउँमा त पुराना दृश्य आँखैअगाडि घटिरहेको अनुभूति हुन्छ। कतै उनको लेखन काव्यात्मक पनि लाग्छ।
वास्तविक घटनालाई आख्यानात्मक ढंगले प्रस्तुत गर्नु यस कृतिको अर्को महत्त्वपूर्ण विशेषता हो। लेखकले घटनाको केवल विवरण दिँदैनन्, त्यसलाई पात्र, परिवेश, संवाद, स्मृति र अनुभूतिसँग जोडेर प्रस्तुत गर्छन्। त्यसैले कतिपय ठाउँमा पुस्तक राजनीतिक संस्मरण पढिरहेको भन्दा एउटा जीवन्त आख्यान पढिरहेको जस्तो लाग्छ। तर आख्यानात्मकता अपनाउँदा पनि घटनाको ऐतिहासिक आधार हराउन दिइएको छैन।
कृतिले ऐतिहासिक विषय उठाए पनि यो इतिहासको पुस्तक मात्र होइन। यसलाई ऐतिहासिक पुनर्निर्माणको अवधारणाबाट पनि हेर्न सकिन्छ। इतिहासले वास्तविक घटनालाई आधार बनाउँछ, तर विगत आफैँ बोल्दैन। त्यसलाई कसैले सम्झन्छ, छनोट गर्छ, क्रमबद्ध गर्छ र भाषामा प्रस्तुत गर्छ। त्यसैले इतिहास पनि विगतको यान्त्रिक पुनरुत्पादन नभई एक प्रकारको कथनात्मक पुनर्निर्माण हो।
यसलाई प्रिज्मको रूपकबाट पनि बुझ्न सकिन्छ। प्रिज्ममा पसेको सेतो प्रकाश विभिन्न रङमा विभाजित भएझैँ एउटै जीवन वा घटनालाई फरक–फरक विधा, दृष्टिकोण र कथन पद्धतिले फरक स्वरूपमा देखाउन सक्छ। इतिहास, संस्मरण, जीवनी र आख्यानबीचको दूरी पूर्णतः अभेद्य छैन। फरक यति हो—यी विधाले सत्यलाई फरक कोणबाट ग्रहण र प्रस्तुत गर्छन्।
‘बी.पी. र विद्रोहका ती दिन’ पनि यही सीमाक्षेत्रमा रोचक देखिन्छ। यसमा इतिहास छ, तर इतिहास मात्र छैन। संस्मरण छ, तर संस्मरण मात्र पनि छैन।
एउटा समयको सामाजिक चित्र
कृतिको अर्को उल्लेखनीय पक्ष यसमा समेटिएको तीस र चालीसको दशकको सामाजिक–आर्थिक परिवेश हो। किशोर र वयस्क हुँदै गर्दा लेखकले देखेर भोगेको ग्रामीण इलामको जनजीवन पुस्तकमा आत्मीय स्मृतिका रूपमा आएको छ।
गाउँघर, मानिसहरूको रहनसहन, सामाजिक सम्बन्ध, आर्थिक अवस्था र प्रकृतिसँगको निकटताले त्यस समयको ग्रामीण जीवनको एउटा जीवन्त चित्र दिन्छ। उनको आफ्नै जीवनका प्रसंगले पुस्तकलाई राजनीतिक इतिहासभन्दा पर लैजान्छ।
एउटा संस्कृतिमा हुर्किएको व्यक्ति अर्को संस्कृतिमा प्रवेश गर्दा त्यससँग घुलमिल हुन सक्ने, भिन्न समाज र संस्कृतिलाई आत्मसात् गर्न सक्ने र त्यहाँका मानिसबाट आत्मीयता प्राप्त गर्न सक्ने दृष्टान्तहरू पनि पुस्तकमा भेटिन्छन्। यसले तत्कालीन सामाजिक तथा सांस्कृतिक अन्तर्घुलनको एउटा पाटोलाई समेत देखाउँछ।
स्मृतिमा रहेका बी.पी.
बी.पी.सँग सम्बन्धित प्रसंगमा धर्म गौतमको गहिरो सम्मान र आत्मीयता बारम्बार प्रकट हुन्छ। बी.पी.को सुझबुझ, उन्नत राजनीतिक सोच, प्रजातन्त्र र राष्ट्रियताप्रतिको समर्पण तथा भारतीय समाजवादी नेताहरूसँगको सम्बन्ध र राजनीतिक उचाइको वर्णनबाट लेखकले बी.पी.लाई केवल एक राजनीतिक नेताका रूपमा होइन, आफ्नो समयका महत्त्वपूर्ण लोकतान्त्रिक योद्धाका रूपमा प्रस्तुत गरेका छन्।
यस अर्थमा गौतमले बी.पी.को महिमा गाएका मात्र छैनन्, आफूले नजिकबाट चिनेको बी.पी.को एउटा मानवीय र राजनीतिक प्रतिरूप पाठकसामु राखेका छन्। उनका मानवीय कमजोरीलाई पनि देखाएका छन्। यसले पुस्तकमा बी.पी.को व्यक्तित्वलाई एकांगी हुनबाट जोगाएको छ।
कृतिले व्यक्तिगत संस्मरणको घेरालाई पार गरेर तत्कालीन राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिक घटनाक्रमलाई पनि समेटेको छ। बी.पी. भारतमा निर्वासनमा रहेका बेला तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले छिमेकी राष्ट्रहरूप्रति अख्तियार गरेको नीति, सिक्किमको भारतमा विलयको पृष्ठभूमि, बी.पी.का गतिविधिमाथि भइरहेको निगरानी तथा त्यस समयका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाक्रमलाई लेखकले विस्तारपूर्वक प्रस्तुत गरेका छन्।
नेपालमा भएको जनमतसंग्रह र त्यसको परिणाम पनि पुस्तकको महत्त्वपूर्ण राजनीतिक सन्दर्भ बनेको छ। यसरी एउटा व्यक्तिको संस्मरणभित्र एउटा युगकै राजनीति र समकालीन समाज पनि अभिलिखित भएको छ।
राजनीतिक यात्राभित्रको मानवीय मूल्य
पुस्तकको सबैभन्दा मानवीय तह सायद लेखकको आफ्नै त्याग र संघर्षमा देखिन्छ। प्रजातन्त्र र नागरिक मुक्तिको आकांक्षाका लागि घरपरिवार, सहज जीवन र व्यक्तिगत सुखसुविधा छाडेर हिँडेको उनको यात्रा केवल राजनीतिक प्रतिबद्धताको कथा होइन। त्यसमा व्यक्तिगत मूल्य पनि चुकाइएको छ।
निर्वासनका दुःख, अपरिचित भूमिमा बिताएका दिन, साथीभाइ र सहयात्रीसँगको सम्बन्ध तथा उनीहरूबाट पाएको सहयोगले उनको राजनीतिक यात्रालाई मानवीय गहिराइ प्रदान गरेको छ। राजनीतिक इतिहासमा प्रायः ओझेलमा पर्ने यस्ता व्यक्तिगत अनुभवले पुस्तकलाई थप आत्मीय बनाएका छन्।
‘बी.पी. र विद्रोहका ती दिन’ बी.पी. कोइरालाको स्मृतिबाट सुरु भएर धर्म गौतमको आफ्नै जीवन, एउटा पुस्ताको राजनीतिक चेतना, ग्रामीण इलामको सामाजिक जीवन र नेपालको एउटा महत्त्वपूर्ण ऐतिहासिक कालखण्डसम्म फैलिन पुगेको छ।
इतिहासलाई केवल घटनाहरूको सूची नबनाई त्यसलाई स्मृति, अनुभव र आख्यानसँग जोडेर प्रस्तुत गर्ने गौतमको शैली यस कृतिको विशेषता हो। बी.पी. यहाँ इतिहासका पानामा सीमित नेता होइनन्। उनीसँग भेटेको, बोलेको र सहयात्रा गरेको मानिसको स्मृतिमा बाँचेका व्यक्ति हुन्।
अनि गौतम पनि केवल बी.पी.का संस्मरणकर्ता होइनन्। उनी आफ्नै समय, संघर्ष र जीवन भोगाइका सजीव पात्रका रूपमा पुस्तकमा उपस्थित छन्। यही कारण ‘बी.पी. र विद्रोहका ती दिन’ एउटा नेताको संस्मरणमा सीमित नरही एउटा पुस्ताले बाँचेको समय, भोगेको राजनीति र सम्झनामा सुरक्षित राखेको इतिहासको दस्तावेजजस्तो बनेको छ।



















