
एजेन्सी । आइतबार बिहान न्युयोर्कको मौसममा अचानक परिवर्तन आयो। बिहानैदेखि सिमसिम पानी पर्न थाल्यो। यतिखेर यहाँको मौसम हल्का चिसो हुँदै गएको छ। तर, यहाँ मंगलबारदेखि संयुक्त राष्ट्रसंघको महासभामा उच्चस्तरीय राजनीतिक सम्बोधन सुरु हुने भएकाले राजनीतिक एवं कूटनीतिक माहोल भने तात्दैछ। उक्त सम्मेलनमा १३० देशका सरकार प्रमुखले सम्बोधन गर्ने राष्ट्रसंघका प्रवक्ताले यसअघि नै जानकारी दिएका छन्।
यतिखेर न्युयोर्क सहरका अधिकांश होटल भरिभराउ छन्। होटलका परिसर तथा वरपर महासभामा सहभागी हुन आएका विभिन्न देशका प्रतिनिधिको चहलपहल देखिन्छ। विभिन्न देशका तथा अमेरिकाकै अन्यत्र ठाउँबाट आएका सञ्चारकर्मीको पनि यहाँ भिडभाड देखिन्छ। राष्ट्रसंघको महासभाको समाचार संकलनका लागि उनीहरू खटिएर आएका छन् र आफ्ना काम सुरु गरिसकेका छन्।
समाचारमा जनाइएअनुसार सोमबार नै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प वासिङ्टन डिसीबाट न्युयोर्क आइपुग्ने कार्यतालिका रहेको छ। यसैगरी इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलगायतका नेताहरू न्युयोर्क आइपुग्दैछन्।
विश्वभरिका शासकदेखि प्रशासकसम्म, अभियन्तादेखि पत्रकारसम्म अमेरिकाको वित्तीय राजधानी न्युयोर्कमा आगामी १० दिनसम्म खचाखच भरिने छन्। विदेशी विशिष्ट पाहुना र त्यसमाथि पनि सरकार प्रमुखको बसाइ यही एक माइलभित्र रहेका सुविधासम्पन्न र विश्वकै महँगा होटलमा रहने गरेका छन्। तीमध्ये मिलेनियम हिल्टन न्यूयोर्क वन यूएन प्लाजा, द वेस्टिन न्यूयोर्क ग्रान्ड सेन्ट्रल, वाल्डोर्फ एस्टोरिया न्यूयोर्क, हयात ग्रान्ड सेन्ट्रल लगायतका होटलमा बुकिङ बन्द गरिएको छ। यसअघि बुकिङ भइसकेका वा कतिपय मिसन (राष्ट्रसंघका लागि दूतावास) ले अग्रिम बुकिङ गरिसकेका छन्।
यतिखेर ती होटलका कर्मचारीलाई भ्याइनभ्याइ रहेको देखिन्छ। उनीहरू पनि पाहुनाको सहयोगका लागि तत्परताका साथ लागिपरेका छन्। उनीहरू कुनै पनि पाहुनालाई सहयोग गर्न उत्तिकै तयारी अवस्थामा रहेका छन्। त्यसो त न्युयोर्कको पर्यटन सिजन समर भए पनि सेप्टेम्बरदेखि डिसेम्बरसम्म निकै चहलपहल देखिन्छ।
अहिले राष्ट्रसंघको मुख्यालय वरिपरि पैदल हिँड्न बन्द गरिएको छ भने न्युयोर्क प्रहरीले ठूलो संख्यामा क्याडेट परिचालन गरिसकेको छ। यहाँ वरपर भारी संख्यामा ब्यारियर राखिएको छ। उच्चस्तरीय सप्ताह भएकाले कारकेड, स्कर्टिङ गर्नेदेखि पाहुनालाई होटल र विमानस्थलसम्म पुर्याउन कतिपय बाटोमा एकतर्फी आवागमन र कतिपय बाटो बन्द गरिएको छ। राष्ट्रसंघले पनि भिजिटरका लागि अक्टोबर १२ सम्म मुख्यालय बन्द गरेको छ।
यहाँ आवागमनका लागि बाटो बन्द भए पनि सर्वसाधारणका लागि भने भूमिगत रेल प्रणाली भएकाले आफ्ना काममा आवतजावत गर्न गाह्रो हुँदैन। मुख्य रूपमा मिड म्यानहटन, युनाइटेड नेसन्स हेडक्वार्टर लगायतका सडक बन्द गरेर सार्वजनिक कार्यक्रम आयोजना गर्न पनि रोक लगाइएको छ। न्युयोर्क सिटीकी पुलिस कमिशनर जेसिका टिस्चले न्युयोर्क पुलिस डिपार्टमेन्ट पूर्णरूपमा तयार र सतर्क रहेको बताइन्।
न्युयोर्कको एक स्थानीय होटलमा कार्यरत समिर पाँडेका अनुसार यहाँका होटलमा सबैभन्दा व्यस्त सिजन सेप्टेम्बर नै हो। तर, महासभामा भाग लिन आउनेहरूका विषयमा आफूहरूलाई ‘स्पेसल’ भनेर नभनिने उनले बताए। उनका अनुसार यो समयमा होटलको उच्च दरमा बुकिङ हुने भएकाले मूल्य पनि महँगो पर्ने हुन्छ। त्यसैले तीन महिना अगाडि बुकिङ गरेको खण्डमा किफायती मूल्यमा होटल प्राप्त गर्न सकिने उनले बताए।
म्यानहटनमै खुद्रा पसल चलाएर बसेका ओमप्रकाश खण्डेवालले यो समयमा उपहारका सामानको व्यापार बढी हुने बताए। उनले विगत एक दशकमा सेप्टेम्बर महिनामा जहिले पनि व्यापार बढी हुने तथ्याङ्क आफूसँग रहेको बताए।
न्युयोर्कमा नै बसेर उबर चलाउँदै आएका तिलक गुरुङका अनुसार यो सिजनमा धेरै स्थानमा अवरोध हुने भएकाले छोटो यात्रालाई पनि लामो समय लाग्ने र अन्तिम समयमा रुट परिवर्तन गराइदिने गरेकाले हैरानी हुने गर्छ। उनका अनुसार यो समयमा सबवे (रेल) बाट यात्रा गर्दा धेरै सजिलो र किफायती हुन्छ।
संयुक्त राष्ट्रसंघको मुख्यालय न्युयोर्कमा जारी महासभा आगामी २९ सेप्टेम्बरसम्म जारी रहनेछ। यस पटकको महासभाको नारा ‘विश्वासको पुनःस्थापना, रूपान्तरणको व्यवस्थापनः सबैका लागि कार्य गर्ने संयुक्त राष्ट्रसंघ’ रहेको छ।

























