सेनाका दुई शक्तिशाली जनरलमाथि भ्रष्टाचार मुद्दा, जिम्मेवारी खोसियो

Share this
730shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन ६, मंगलबार ०६:५७

एजेन्सी । चीनले सेनाका दुई प्रभावशाली जनरल झाङ योउजिया र लिउ झेनलीलाई सत्तारुढ चिनियाँ कम्युनिस्ट पार्टीबाट निष्कासन गरेको छ । भ्रष्टाचार तथा अनुशासन उल्लंघनको आरोपमा अनुसन्धानमा रहेका उनीहरूको जिम्मेवारी खोसिएको हो । उनीहरुमाथि अब सैन्य कानुनी निकायमार्फत कारबाही अघि बढाइने भएको छ ।

चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाका अनुसार सोमबार बेइजिङमा बसेको उच्चस्तरीय बैठकले दुवै जनालाई पार्टीबाट निष्कासन गर्ने निर्णय लिएको हो । उनीहरूमाथिको मुद्दा समीक्षा तथा अभियोजनका लागि सम्बन्धित सैन्य कानुनी निकायमा पठाउने निर्णयसमेत भएको छ ।

Advertisement

केन्द्रीय सैन्य आयोग (सीएमसी)का उपाध्यक्षसमेत रहेका झाङ चिनियाँ सेनाका उच्च तहका अधिकारीमध्ये एक थिए । उनीमाथि आफ्नो पदको दुरुपयोग गर्दै व्यक्तिगत लाभ लिएको तथा ठूलो रकम स्वीकार गरेको आरोप छ । अर्का अधिकारी लिउमाथि पनि अनुशासन र कानुनको गम्भीर उल्लंघन गरेको आरोपमा अनुसन्धान भएको थियो ।

चिनियाँ रक्षा मन्त्रालयले गत जनवरीमा झाङ र लिउ दुवैविरुद्ध अनुसन्धान भइरहेको सार्वजनिक गरेको थियो । चीनमा भ्रष्टाचार तथा गम्भीर अनुशासन उल्लंघनका घटनालाई जनाउन ‘अनुशासन र कानुनको गम्भीर उल्लंघन’ भन्ने शब्दावली प्रयोग गरिन्छ ।

सिन्ह्वाका अनुसार अनुसन्धानका क्रममा दुवै अधिकारी पार्टीप्रति अविश्वासी बनेको र आफ्नो अधिकारको सीमा नाघेको पाइएको थियो । उनीहरूले व्यक्तिगत स्वार्थका लागि गुट निर्माण गरेको, ठूलो रकम स्वीकार गरेको तथा जागिरमा पदोन्नतिजस्ता विषयमा अरूलाई सहयोग गर्न आफ्नो अधिकारको दुरुपयोग गरेको अनुसन्धानबाट खुलेको दाबी गरिएको छ ।

झाङको निष्कासनलाई विशेष रूपमा अर्थपूर्ण मानिएको छ । उनी चिनियाँ सेनाको उच्च नेतृत्वमा रहेका प्रभावशाली अधिकारी थिए । राष्ट्रपति सी चिनफिङको नेतृत्वमा चीनले सेनाभित्र भ्रष्टाचार नियन्त्रणलाई निरन्तर प्राथमिकतामा राख्दै आएको छ ।

सिन्ह्वाले दुवै जनाको भ्रष्टाचार प्रकरणमा ‘अत्यन्त ठूलो रकम’को खेलो भएको जनाएको छ । उनीहरूलाई केन्द्रीय सैन्य आयोगका अधिकांश जिम्मेवारीबाट यसअघि नै हटाइएको थियो ।

दुवै जनालाई पार्टीबाट निष्कासन गर्ने निर्णय भने चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको पूर्ण बैठकबाट अनुमोदन हुन बाँकी रहेको छ । उनीहरूमाथिको आगामी कानुनी प्रक्रिया सैन्य न्यायिक संयन्त्रमार्फत अघि बढ्नेछ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×