अमेरिकी हमलाको तयारी रोकिएपछि यमनमा हुथीको सैन्य दबदबा बढ्दै

Share this
702shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन ६, मंगलबार ०७:४३

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तिम समयमा हुथीविरुद्धको हवाई आक्रमण रोक्न आदेश दिएपछि यमनमा हुथी लडाकुहरूले आफ्नो सैन्य गतिविधि थप तीव्र बनाएका छन् । अमेरिकी हमलाको तयारी रोकिएपछि यमनमा हुथीको सैन्य दबदबा बढ्दै गएको हो ।

साउदी समर्थित यमनी सरकारी सेनाको नियन्त्रणमा रहेका क्षेत्रलाई लाल सागरको तटीय भू–भागबाट अलग गर्ने रणनीतिअनुसार हुथीहरूले रणनीतिक उच्च भू–भाग कब्जा गर्ने प्रयास गरिरहेका छन् । यस क्रममा ताइज र लहिज प्रान्तमा पर्ने कहबुब पर्वतीय क्षेत्रमा पछिल्ला दिनमा भीषण लडाइँ भइरहेको यमनी सेनाका स्रोतहरूले बताएका छन् ।

Advertisement

सन् २०१४ देखि यमनको राजधानी सानामाथि नियन्त्रण कायम राख्दै आएको इरान समर्थित हुथी समूहले यसै महिना लाल सागरको तटीय क्षेत्रमा पनि आफ्नो प्रभाव विस्तार गरेको छ । हुथीको पछिल्लो सैन्य विस्तारले साउदी अरबमाथि सुरक्षा दबाब बढाउनुका साथै लाल सागर हुँदै हुने अन्तर्राष्ट्रिय व्यापार र ऊर्जा आपूर्तिमा समेत जोखिम बढाएको छ ।

द न्युयोर्क टाइम्सका अनुसार साउदी युवराज मोहम्मद बिन सलमानको आग्रहपछि ट्रम्प प्रशासनले आइतबार हुथीविरुद्ध हवाई आक्रमणको तयारी गरेको थियो । अमेरिकी सैनिकहरूले विमानमा बमसमेत लोड गरिसकेको अवस्थामा ट्रम्पले अन्तिम समयमा आक्रमण रोक्न निर्देशन दिएका थिए ।

यसैबीच, यमनका अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारका राष्ट्रपति रशिद अल–अलिमीले ट्रम्पसँग फोनवार्ता गरी सैन्य सहयोग मागेको विभिन्न स्रोतले रोयटर्सलाई बताएका छन् । स्रोतका अनुसार ट्रम्पले तत्काल प्रत्यक्ष सैन्य सहयोगको प्रतिबद्धता भने जनाएका थिएनन् ।

शनिबार साउदी राजधानी रियादसमेत पहिलोपटक आक्रमणको निशानामा परेको देखिएको थियो । विमानस्थल आसपास विस्फोटको आवाज सुनिएको र धुवाँ देखिएको थियो । हुथीहरूले रियादतर्फ क्षेप्यास्त्र प्रहार गरेको दाबी गरे पनि साउदी पक्षले घटनाका बारेमा औपचारिक प्रतिक्रिया दिएको छैन ।

संयुक्त राष्ट्रसंघका अनुसार पछिल्लो चरणको यमनी संघर्षमा करिब ७ सय जनाको मृत्यु भएको छ भने हजारौँ घाइते भएका छन् । करिब १ लाख ३० हजार मानिस देशभित्रै विस्थापित भएका छन् । तीन हजारभन्दा बढी मानिस लाल सागर पार गरी अफ्रिका पुगेका छन् ।

हुथीको नियन्त्रण विस्तारसँगै साउदी अरबको तेल निर्यातमा समेत असर पर्ने चिन्ता बढेको छ । होर्मुज स्ट्रेटमार्फत तेल ढुवानी बढाएर साउदीले जोखिम व्यवस्थापनको प्रयास गरिरहेको छ । पछिल्ला दिनमा होर्मुज हुँदै साउदी तेल निर्यात दैनिक करिब २९ लाख ब्यारेल पुगेको बताइएको छ ।

मध्यपूर्वमा बढ्दो सैन्य तनावका बीच कच्चा तेलको मूल्य गत साता करिब ११० डलर प्रतिब्यारेल पुगे पनि अहिले १०० डलर आसपासमा झरेको छ । यद्यपि, प्रशोधित इन्धनको मूल्य भने उच्च नै रहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×