डुजुआनले जापानमा त्रास

Share this
721shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन ६, मंगलबार ०७:५८

एजेन्सी । टाइफुन ‘डुजुआन’ जापानतर्फ तीव्र गतिमा अघि बढेपछि राजधानी टोकियोसहित आसपासका क्षेत्रमा भारी वर्षा र शक्तिशाली हावाहुरीको जोखिम बढेको छ । डुजुआनको त्राससँगै सम्भावित जोखिमलाई मध्यनजर गर्दै १६ लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सर्न आग्रह गरिएको छ ।

टोकियो नजिकैको कात्सुउरा सहरबाट करिब १३० किलोमिटर दक्षिणमा रहेको टाइफुनले प्रतिघण्टा करिब १४४ किलोमिटरको गतिमा हावा चलाइरहेको थियो । आँधी उत्तरतर्फ अघि बढेसँगै जापानका विभिन्न क्षेत्रमा जनजीवन प्रभावित भएको छ ।

Advertisement

जापान एयरलाइन्सले १३५ र अल निप्पोन एयरवेजले १४० उडान रद्द गरेका छन् । टोकियो आसपासका नौ हजारभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ । टोकियो, चिबा, कानागावा र सिजुओका प्रिफेक्चरमा पहिरोको चेतावनी दिइएको छ भने केही रेल सेवा पनि स्थगित भएका छन् ।

जापानको मौसम विज्ञान एजेन्सीले मंगलबारसम्म हुने वर्षाले सेप्टेम्बरको औसत वर्षा पार गर्न सक्ने जनाएको छ । केही क्षेत्रमा कीर्तिमानी वर्षा हुन सक्ने भएकाले सतर्क रहन आग्रह गरिएको छ ।

विपद् व्यवस्थापन अधिकारीहरूले टोकियो र आसपासका क्षेत्रमा १६ लाखभन्दा बढी बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरे पनि उक्त निर्देशन अनिवार्य भने गरिएको छैन । टाइफुनका कारण हालसम्म एक जना सामान्य घाइते भएका छन् भने नौ घरमा क्षति पुगेको बताइएको छ ।

आँधीका कारण चिबामा भइरहेको ‘टोकियो गेम शो’ सोमबार निर्धारित समयभन्दा अगावै बन्द गरिएको छ । चिबामै आयोजना हुने भनिएको ठूलो खुला संगीत महोत्सव र बेसबल खेलसमेत रद्द भएका छन् ।

यसैबीच, सामाजिक सञ्जालमा सार्वजनिक तस्बिरमा कामाकुरा स्टेसन आसपासका सडक डुबानमा परेको देखिएको छ । कामाकुराका मेयर ताकासी मात्सुओले सडकमा पानी जमेकाले कारमा यात्रा गर्नु जोखिमपूर्ण रहेको बताएका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×