भारी वर्षाको सम्भावनापछि पर्यटकलाई सतर्क रहन पर्यटन बोर्डको आग्रह

Share this
751shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन ७, बुधबार १०:५३

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएपछि नेपाल पर्यटन बोर्डले पदयात्रा, हिमाल आरोहण तथा अन्य पर्यटकीय गतिविधिमा संलग्नलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

बोर्डले असोज ९ गते शुक्रबारदेखि ११ गते आइतबारसम्म गण्डकी र लुम्बिनी प्रदेशलगायतका क्षेत्रमा प्रतिकूल मौसमको सम्भावना रहेकाले आवश्यक परे पदयात्रा, आरोहण तथा अन्य पर्यटकीय गतिविधि स्थगित गर्नसमेत आग्रह गरेको हो।पर्यटकीय मौसम सुरु भएसँगै विभिन्न क्षेत्रमा भ्रमण, हिमाल आरोहण, पदयात्रा, मेला तथा महोत्सव भइरहेकाले भारी वर्षा, हावाहुरी र चट्याङको जोखिमलाई ध्यानमा राखेर सावधानी अपनाउन बोर्डका प्रवक्ता सुनिल शर्माले आग्रह गरे।

Advertisement

जल तथा मौसम विज्ञान विभागका अनुसार असोज ७ गते बुधबारदेखि कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षाको गतिविधि बढ्दै जानेछ। असोज ९ देखि ११ गतेसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी तथा एक-दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

त्यसैगरी कोशी, मधेस, बागमती र सुदूरपश्चिम प्रदेशका धेरै स्थान तथा कर्णाली प्रदेशका थोरै स्थानमा पनि भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। खराब मौसमका कारण बाढी, पहिरो तथा उच्च हिमाली क्षेत्रमा हिमपातको जोखिम रहेकाले पर्यटक र पर्यटन व्यवसायीलाई मौसमसम्बन्धी आधिकारिक सूचना निरन्तर पछ्याउन बोर्डले आग्रह गरेको छ।

बोर्डका प्रवक्ता शर्माले मौसमको पछिल्लो जानकारीका लागि पर्यटन बोर्ड र मौसम पूर्वानुमान महाशाखाका वेबसाइट तथा सामाजिक सञ्जाल नियमित हेर्न आग्रह गर्दै जोखिमयुक्त मौसममा सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर मात्र पर्यटकीय गतिविधि सञ्चालन गर्नुपर्ने बताए। बोर्डले अप्रिय घटना हुन नदिन स्थानीय प्रशासन, सुरक्षा निकाय र सम्बन्धित पर्यटन व्यवसायीसँग समन्वय गरेर यात्रा तथा पर्यटकीय गतिविधिको तालिका तय गर्न पदयात्री र पर्वतारोहीलाई आग्रह गरेको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×