उत्तर प्रदेशमा बाढी र डुबानबाट ५८ जनाको मृत्यु

Share this
741shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन ११, आइतबार ०९:३६

एजेन्सी । भारतको उत्तर प्रदेशमा करिब ७२ घण्टादेखि भइरहेको अविरल वर्षाका कारण जनजीवन प्रभावित भएको छ। भारी वर्षासँगै आएको बाढी, जलभराव, घर तथा रुख ढल्नेलगायतका घटनामा शनिबार साँझसम्म प्रदेशभर ५८ जनाको मृत्यु भएको छ।

शनिबार उत्तर प्रदेशका अधिकांश क्षेत्रमा तीव्र हावासहित मुसलधारे वर्षा भएको थियो। करिब १० जिल्लामा २०० मिलिमिटरभन्दा बढी वर्षा भएको जनाइएको छ। आइतबार बिहान राजधानी लखनउसहित आसपासका क्षेत्रमा समेत हल्का वर्षा जारी थियो। लगातारको वर्षाका कारण विभिन्न स्थानमा कच्ची घर भत्किएका छन्। रुख तथा विद्युत्का पोल ढलेर सडक अवरुद्ध हुनुका साथै विद्युत् लाइनमा क्षति पुगेपछि कतिपय क्षेत्रमा आपूर्ति प्रभावित भएको छ।

Advertisement

वर्षाजन्य घटनाबाट सबैभन्दा बढी २६ जनाको मृत्यु अवध क्षेत्रका जिल्लामा भएको छ। सीतापुरमा ६, बहराइचमा ५, बलरामपुर र अयोध्यामा ४–४ तथा बाराबंकीमा ३ जनाको मृत्यु भएको छ। गोन्डा, अमेठी र श्रावस्तीमा पनि मानवीय क्षति भएको जनाइएको छ। त्यस्तै, लखीमपुर खीरीमा ६, गोरखपुरमा ५, हरदोईमा ४ र हमीरपुरमा ३ जनाको मृत्यु भएको छ। अन्य केही जिल्लामा पनि एक–दुई जनाको मृत्यु भएको विवरणमा उल्लेख छ।

शनिबार लखीमपुर खीरीमा ३४२ मिलिमिटर वर्षा भएको थियो। सीतापुरमा २७३.२, बाँदामा २४५.६ र बहराइचमा २३९ मिलिमिटर वर्षा मापन गरिएको छ। बाँदा र हमीरपुरमा एकै दिनको वर्षाले पुरानो रेकर्ड तोडेको जनाइएको छ। कानपुरमा १७५.४ मिलिमिटर वर्षा भएपछि ४५ वर्षदेखिको रेकर्ड तोडिएको बताइएको छ।

वर्षाका कारण बरेलीमा अधिकतम तापक्रम २१.३ डिग्री सेल्सियसमा झरेको थियो। यो सेप्टेम्बर महिनामा रेकर्ड गरिएको त्यहाँको अहिलेसम्मकै न्यून अधिकतम तापक्रम भएको बताइएको छ। इटावा, शाहजहाँपुर, मुरादाबाद र आगरा पनि सेप्टेम्बरको अहिलेसम्मकै चिसो दिनमध्ये एक बनेका छन्।

भारतीय मौसम विभागका अनुसार आइतबार पनि उत्तर प्रदेशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना छ। मुरादाबाद, रामपुर, पीलीभीत र बरेलीमा अति भारी वर्षाका लागि ‘ओरेन्ज अलर्ट’ जारी गरिएको छ। तराई क्षेत्रका थप नौ जिल्लामा भारी वर्षाका लागि ‘येलो अलर्ट’ जारी गरिएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×